निर्वाचन आयोगको दलहरूलाई निर्देशन– चुनावबारे संशय हुने अभिव्यक्ति नदिनू
निर्वाचन आयोगले ३० वैशाखको स्थानीय चुनावबारे अन्योल हुने अभिव्यक्ति नदिन निर्देशन दिएको छ।
निर्धारित मितिमै स्थानीय तहको निर्वाचन गर्ने तयारी अन्तिम चरणमा पुगेका वेला राजनीतिक दलका नेता तथा कार्यकर्ताले नै निर्वाचनको विषयमा संशय हुने अभिव्यक्ति दिएको भन्दै आयोगले यस्तो निर्देशन दिएको हो।
“निर्वाचनका विषयमा अन्योल सिर्जना गर्ने खालका अभिव्यक्ति नदिनुहुन सरोकारवाला सबैमा आग्रह गर्दछ,” आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
आयोगले ३९ जिल्लालाई आवश्यक पर्ने ३० लाख ३३ हजार मतपत्र छपाइ सम्पन्न भइसकेको जनाएको छ। आगामी निर्वाचनका लागि एक करोड ९४ लाख थान मतपत्र छापिने भएको छ। दैनिक आठ लाख मतपत्र छपाइ भइरहेको प्रवक्ता पौडेलले जानकारी दिए।
निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र निर्वाचन कार्यालय प्रमुखका लागि विराटनगर, धुलिखेल, पोखरा र नेपालगञ्जमा निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको आयोगले जनाएको छ।