तातोपानी आइपुगे साझाका बिजुली बस
साझा यातायातका तीन वटा बिजुली बस तातोपानी भन्सार नाकामा आइपुगेका छन्।
पाँच महीनाअघि साझाले खरीद गरेको ४० मध्ये तीनवटा बस परिक्षणको लागि बुधबार तातोपानी भन्सारमा आइपुगेका हुन्।
यी तीन वटा बसको परीक्षण सफल भएपछि अन्य ३७ वटा बस ल्याइने साझा यातायात सञ्चालक समिति सदस्य भूषण तुलाधरले बताए। “केही दिनभित्रैमा यी बसहरू काठमाडौं आइपुग्नेछन् र परीक्षण हुनेछ,” उनले भने।
ललितपुरभित्र चल्ने चार वटा बसका लागि भारतीय कम्पनीसँग समेत सम्झौता भइसकेको तुलाधारले बताए। बिस्तारै बिजुली बसको सङ्ख्या बढाउने योजना रहेको उनले बताए।
पहिलो चरणमा नौ मिटर लामो बस किन्ने सम्झौता गरेको साझाले क्रमश: १२ मिटर लामो र अन्तरप्रदेश चल्ने विद्युतीय बस ल्याउने योजना बनाएको छ। बिजुली बसमा वाईफाई, टीभी डिस्प्ले, सीसी क्यामेरा हुनेछन्।