परिवार दलसँग पनि एमालेको चुनावी तालमेल
स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) र नेपाल परिवार दलबीच चुनावी तालमेल गर्ने सहमति भएको छ।
बुधबार एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र नेपाल परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलले सहमतिमा हस्ताक्षर गरेका छन्। दुवै दलले देशभर स्थानीय तहमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने भएका छन्।
त्यस्तै, परिवार दलले आफ्ना उम्मेदवार नभएको ठाउँमा एमालेका उम्मेदवारलाई सघाउने र एमालेले पनि परिवार दलका उम्मेदवारलाई सघाउने भएका छन्।
यससँगै परिवार दलका उम्मेदवारले सूर्य चिह्न लिएर चुनाव लड्ने भएका छन्। यसका लागि छलफल गर्न दुवै दलले जिल्ला कमिटीलाई निर्देशन दिएका छन्।