राष्ट्र ब्यांकका गभर्नर अधिकारीलाई पदमुक्त गर्न न्यायिक समिति गठन, अधिकारी निलम्बित
नेपाल सरकारले राष्ट्र ब्याङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई पदबाट हटाउने उद्देश्यले न्यायिक छानबिन समिति गठन गरेको छ।
अर्थ मन्त्रालय स्रोतका अनुसार, अधिकारीमाथि छानबिन गर्न यस्तो जाँचबुझ समिति गठन गरिएको हो। अधिकारीमाथि छानबिन गर्न न्यायिक समिति गठन हुने बित्तिकै अधिकारी स्वतः निलम्बनमा परेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले अधिकारी निलम्बनमा परेको पुष्टि गरे। “कानून अनुसार प्रक्रिया पूरा गरेर निलम्बन गरिएको हो,” उनले छोटो प्रतिक्रिया दिंदै भने।
पछिल्लो समयमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र ब्यांकबीच गहिरो असमझदारी भएको देखिंदै आएको थियो। शुक्रबार राष्ट्र ब्यांकले आयोजना गरेको एक कार्यक्रममै अर्थमन्त्री जनार्दन शर्माले अधिकारीको भूमिकामाथि प्रश्न उठाएका थिए।
सरकारले गभर्नर अधिकारीको पदीय जिम्मेवारी र भूमिकामाथि प्रश्न उठाउँदै नेपाल राष्ट्र ब्यांक ऐन २०५८ को दफा २२ बमोजिम न्यायिक समिति गठन गरेको हो। अर्थतन्त्रलाई सङ्कटोन्मुख बनाउन अधिकारीले भूमिका खेलेको आरोप लगाइएको छ। जाँचबुझ समितिले राय ठहर सहितको आफ्नो सिफारिश एक महीनाभित्र नेपाल सरकार समक्ष पेश गर्नेछ ।
राष्ट्र ब्यांक ऐनले निश्चित अवस्थामा बाहेक राष्ट्र ब्यांकका गभर्नर वा डेपुटी गभर्नरलाई हटाउन नमिल्ने व्यवस्था गरेको छ। ऐनले ब्यांकको उद्देश्य हासिल गर्नका निमित्त ब्यांकले गर्नुपर्ने कार्यहरू कार्यान्वयन गर्न, गराउन कार्यक्षमताको अभाव भएमा, मुलुकको ब्यांकिङ तथा वित्तीय व्यवस्थामा हानि-नोक्सानी पुग्ने कार्य गरेको देखिएमा, ब्यांकको काम-कारबाहीमा बेइमानी वा बदनियत गरेको देखिएमा, खराब आचरणको कारणबाट कुनै पेशा वा व्यवसाय गर्नबाट अयोग्य ठहर्याई प्रमाणपत्र खोसिएको वा व्यवसाय गर्न रोक लगाइएकोमा तथा मनासिब माफिकको कारण विना लगातार तीन पटकभन्दा बढी समितिको बैठकमा अनुपस्थित भएमा मात्रै गभर्नरलाई हटाउने प्रक्रिया शुरू गर्न सक्ने व्यवस्था गरेको छ।
सरकारले उनलाई कुन आरोप लगाएर पदमुक्तिको प्रक्रिया शुरू गरेको प्रष्ट छैन। अपवाद बाहेक राष्ट्र ब्यांकमा राजनीतिक पूर्वाग्रहका आधारमा नेतृत्व परिवर्तन हुने गरेको थिएन। अधिकारीलाई तत्कालीन केपी ओली सरकारले २४ चैत २०७६ मा चार वर्षका लागि गभर्नरमा नियुक्त गरेको थियो।
अधिकारी निलम्बनमा पर्ने बित्तिकै ऐन बमोजिम वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यवाहक गभर्नरको जिम्मेवारी दिइएको छ।