महन्थ ठाकुर आईसीयूमा, ग्यास्ट्राइटिस् र निमोनियाको समस्या
बिरामी भएपछि भैरहवाबाट हेलिकोप्टरमा काठमाडौं ल्याइएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरको आईसीयूमा राखेर उपचार भइरहेको छ।
स्वास्थ्यमा समस्या देखिएपछि ठाकुरलाई बुधबार काठमाडौंको मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। उनको स्वास्थ्य परीक्षण गर्दा ग्यास्ट्राइटिस् र निमोनियाको समस्या देखिएको अस्पतालले जनाएको छ।
“अहिले उहाँलाई आईसीयूमा राखेर उपचार भइरहेको छ,” मेडिसिटी अस्पतालकी प्रेस संयोजक मनिता पाखेरेलले हिमालखबरसँग भनिन्, “ग्यास्ट्राइटिस् र निमोनियाको समस्या देखिएको छ।” उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उनले बताइन्।
पार्टी कार्यक्रममा सहभागी हुन भैरहवा पुगेका ठाकुरलाई बुधबार एकाएक समस्या देखिएको थियो। छाती दुख्ने, ज्वरो आउने जस्ता समस्या देखिएपछि स्थानीय अस्पतालमा भर्ना गरिएको थियो।
त्यहाँ उपचार हुन नसकेपछि बुधबार हेलिकोप्टर मार्फत काठमाडौं ल्याइएका ठाकुरलाई मेडिसिटी अस्पताल भर्ना गरिएको हो।