बार अध्यक्षमा घिमिरे दोब्बर मतले अगाडि
नेपाल बार एसोसिएशनको २६औं केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहबाट अध्यक्षका उम्मेदवार गोपालकृष्ण घिमिरेको अग्रता कायमै रहेको छ।
अहिलेसम्म गणना भएकामध्ये घिमिरेले ९०५ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले ४४७ मत प्राप्त गरेका छन्।
बारको प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार, अहिलेसम्म १३ केन्द्रको मतगणना सम्पन्न भएको छ। तीमध्ये सर्लाही, इलाम, महेन्द्रनगर, पर्सा, दिपायल, झापा, जनकपुर, रौतहट, धनकुटा, धनगढी, सिरहा, बारा, सुर्खेतको मतगणना सम्पन्न भएको हो।
अहिलेसम्मको मतगणनामा घिमिरे नेतृत्वको समूह नै अग्रता लिएको छ। महासचिवमा अन्जिता खनालले ८१३ र केदारप्रसाद कोइरालाले ५३१ मत प्राप्त गरेका छन्। कोषाध्यक्षमा भरतबहादुर राउतले ८७० र जगतबहादुर कार्कीले ४८६ मत पाएका छन्।
मंगलबार बिहानदेखि मतगणना शुरू भएको थियो भने बेलुका स्थगन गरेर आज ९ बजेदेखि पुनः मत गन्न थालिएको हो।
बारको गत १९ चैतमा मतदान भएको थियो। अध्यक्ष सहित २५ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ मतदाताले मतदान गरेका थिए।