११ केन्द्रको मतगणना हुँदा बार अध्यक्षमा घिमिरेको अग्रता
नेपाल बार एशोसिएशनको २६औं केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा नेपाली कांग्रेस निकट कानून व्यवसायी समूहका तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका गोपालकृष्ण घिमिरेले अग्रता लिएका छन्।
घिमिरेले अहिलेसम्म ७७७ मत प्राप्त गरेका छन्। यस्तै, नेपाल (एमाले) निकट कानून व्यवसायी विष्णुमणि अधिकारीले अध्यक्षमा ३७२ मत प्राप्त गरेका छन्।
नेपाल बार एशोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार, हालसम्म ११ केन्द्रको मतगणना सम्पन्न भएको छ। सर्लाही, इलाम, महेन्द्रनगर, पर्सा, दिपायल, झापा, जनकपुर, रौतहट, धनकुटा, धनगढी र सिरहाको मतगणना सम्पन्न भएको हो। सर्वोच्च अदालत बार एशोसिएशनको ३०० मत गणना भएको छ भने ललितपुर बार एशोसिएशनको १५० मत गणना भएको छ।
घिमिरे समूहबाटै महासचिवमा अन्जिता खनालले ६९७ र केदारप्रसाद कोइरालाले ४४३ मत प्राप्त गरेका छन्। कोषाध्यक्षमा भरतबहादुर राउतले ७५३ र जगतबहादुर कार्कीले ३९२ मत प्राप्त गरेका छन्।
प्रमुख निर्वाचन अधिकृत पाठकले बुधबार बिहान ९ बजेदेखि पुनः मतगणना प्रारम्भ गरिने तथा पूर्ण रूपमा नतीजा भने शुक्रबार मात्र आउने जानकारी दिइन्।
१९ चैतमा काठमाडौं केन्द्र सहित देशभर ३५ स्थानमा मतदान सम्पन्न भएको थियो। बारमा अध्यक्ष सहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ अधिवक्ता मतदाताले मतदान गरेका थिए। त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० मतदाता थिए। सात हजार ४२९ मत मात्र खसेको थियो। - रासस