बार चुनावको मतगणना शुरू
नेपाल बार एशोसिएशनको २६औं केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणना प्रारम्भ भएको छ।
प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार, बिहान १० बजेदेखि मतगणना शुरू भएको हो।
बारको १९ चैतमा काठमाडौं सहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरीकाले मतदान सम्पन्न भएको थियो। सबै स्थानको मतपेटिका सोमबार काठमाडौं केन्द्रमा आइपुगेको थियो।
बारमा अध्यक्ष सहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ जना अधिवक्ता मतदाताले मतदान गरेका थिए। त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० रहेका थिए। तीमध्ये सात हजार ४२९ मत खसेको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता पाठकले जानकारी दिए।
नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहबीच प्रतिस्पर्धा भएको छ। उक्त समूहमध्ये प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरेका छन्।
बारमा अध्यक्षका लागि व्यक्तिगत रूपमा र समूहगत रूपमा गरी आठ जनाको उम्मेदवारी परेको छ। संसद्मा प्रतिनिधि नभएका साना राजनीतिक दल सम्बद्ध समूहबाट पृथ्वीनाथ राईले प्रतिनिधित्व गरेका छन्। (रासस)