मोदीलाई देउवाको आग्रह– संयुक्त संयन्त्र बनाएर सीमा समस्या समाधान गरौं
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल-भारतबीचको सीमा समस्या द्विपक्षीय संयन्त्र बनाएर समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले शनिबार आयोजित संयुक्त पत्रकार सम्मेलन मार्फत आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीलाई यस्तो आग्रह गरेका हुन्।
आफूले भारतीय प्रधानमन्त्री मोदीसँगको ‘वान अन वान’ वार्तामा पनि सीमा समस्याको कुरा उठाएको बताए। उनले भने, “उहाँलाई संयुक्त संयन्त्र बनाएर सीमा समस्या समाधान गर्न आग्रह गरें।”
सर्भे अफ इन्डियाले सन् २०१९ मा कालापानी, लिपुलेक लगायत नेपाली भूभाग भारततर्फ पारेर नक्शा जारी गरेपछि नेपालले वार्ताको आह्वान गरेको थियो। भारतले त्यसलाई बेवास्ता गर्दै नेपाली भूमिमा कैलाश मानसरोवर जाने सडक उद्घाटन गरेपछि नेपालले लिम्पियाधुरा सहितको नक्शा जारी गरेको थियो।
प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा गएका हुन्। आइतबार स्वदेश फर्किनेछन्।