आगामी बजेटबारे ११३८ मा फोन गरेर सुझाव दिन अर्थ मन्त्रालयको आह्वान
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका लागि सुझाव सङ्कलन गर्न टोल फ्री नम्बर ११३८ सञ्चालनमा ल्याएको छ।
आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालयले विषयगत छलफलमा बोलाइने विज्ञ र सरोकारवाला क्षेत्रका प्रतिनिधि बाहेक दूरदराजका सर्वसाधारणको सुझाव समेत सङ्कलन गरी बजेटमा सम्बोधन गर्ने प्रयासका लागि टोल फ्री नम्बर ११३८ सञ्चालनमा ल्याएको हो। मन्त्रालयका अनुसार, कार्यालय समयमा फोन गरी सर्वसाधारणले आफूलाई लागेको सुझाव टिपाउन सक्ने व्यवस्था गरिएको छ।
त्यस्तै, मन्त्रालयको वेबसाइटमा रहेको ‘बजेट सजेशन’ मा क्लिक गरेर पनि सुझाव पेश गर्न सक्ने व्यवस्था गरिएको छ। यससँगै इमेल मार्फत पनि सुझाव दिन सकिनेछ।
बजेट तथा कार्यक्रमलाई थप प्रभावकारी र कार्यान्वयनयोग्य बनाउन उद्योगी, व्यवसायी, बुद्धिजीवी, राजनीतिज्ञ, समाजसेवी, पेशाकर्मी, सञ्चारकर्मी, आम नागरिक एवं सरोकार राख्ने सबैको सुझाव महत्त्वपूर्ण हुने भएकाले बजेटमा सम्बोधन गर्नुपर्ने सान्दर्भिक विषयवस्तु चैत मसान्तभित्र लिखित वा मौखिक (टेलिफोन) रूपमा उपलब्ध गराउन अर्थ मन्त्रालयले आग्रह गरेको हो।
मन्त्रालयले अहिले कृषि, शिक्षा, ब्यांक, वित्तीय संस्था तथा बीमा क्षेत्र, निजी क्षेत्र, अर्थविद् लगायतसँग नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव सङ्कलन गरिसकेको छ। मन्त्रालयले हप्तामा दुई वटासम्म छलफल आयोजना गरी विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवाला क्षेत्रका प्रतिनिधिबाट बजेटबारे सुझाव सङ्कलन गरिरहेको छ।