गठबन्धनलाई ओलीको कटाक्ष- स्यालहरूको मोर्चा कसेर हात्तीको शिकार गर्न सकिंदैन
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनले आफ्नो पार्टीलाई केही असर गर्न नसक्ने जनाउँदै स्थानीय चुनावको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्।
एमाले सम्पर्क समन्वय कमिटीले शनिबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई स्यालको मोर्चाको संज्ञा दिए। “गठबन्धन छ भन्ने द्विविधामा नपरे हुन्छ, यो गठबन्धन केही पनि होइन,” ओलीले कार्यकर्तालाई हौसला दिंदै भने, “स्यालहरूको मोर्चा कसेर हात्तीको शिकार गर्न सकिंदैन।”
पाँच दलीय गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र) कमजोर भइरहेको जिकिर गरे। “प्रचण्डजी, हामीले बनाएको भाँडो हेरेर बसिरहनुभएको छ, भाँडोभित्रको सामग्री सकिएको छ,” ओलीले भने, “ठूलो भाँडो देखिए पनि त्योभित्रका नेता-कार्यकर्ता एमालेमा आइसकेका छन्।”
त्यस्तै, उनले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) अझै दल बन्न नसकेको दाबी गरे। “अर्को पार्टी बनेको छैन, बन्दै बन्दैन,” ओलीले कार्यकर्तालाई हौस्याउँदै भने, “माधव नेपाल हामीले टाँसिदिएका जुँगामा ताउ लगाइरहेका छन्।”
नेपाली कांग्रेस अहिले पनि कमजोर रहेको उनको भनाइ थियो। “अघिल्लो चुनावमा २३ सीटमा झारेका थियौं, यो पटक कांग्रेसलाई १३ सीटमा झारिदिनुपर्छ,” ओलीले भने।
कांग्रेस, माओवादी र एकीकृत समाजवादीसँग स्थानीय चुनावमा कुनै तालमेल नहुने बताए। स्थानीय तह हेरेर तालमेल गर्नुपर्ने बताउँदै उनले यी दलसँग भने तालमेल गर्न नहुने जिकिर गरे।
आगामी स्थानीय चुनावमा देशव्यापी अभियानमा जाने उनको भनाइ थियो। “केही पत्रकारले केपी ओली स्वस्थ मान्छे जस्तै घुमिरहेको छ भनेर लेखेका छन्,” ओलीले व्यङ्ग्य गर्दै भने, “त्यस्तो लेख्ने पत्रकारलाई कुस्ती खेल्न बोलाऔं कि जस्तो लाग्यो।”
स्थानीय चुनाव महत्त्वपूर्ण भएकाले गाउँ गाउँमा खटिन कार्यकर्तालाई ओलीले निर्देशन दिएका छन्।