प्रकाश सपुतको गीतमा दाहालको प्रतिक्रिया- सहज र स्वाभाविक रूपले लिनुपर्छ
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रकाश सपुतको गीत ‘पीर’ लाई सहज र स्वाभाविक रूपले लिन आग्रह गरेका छन्।
गायक सुपतले तीन दिनअघि ‘पीर’ सार्वजनिक गरेका थिए। त्यसमा माओवादी सशस्त्र विद्रोहमा सक्रिय लडाकू तथा कार्यकर्ताले शान्ति प्रक्रियामा आएपछि पाइरहेको पीडालाई उजागर गरेको छ।
यसमा पूर्व लडाकूको अपमान भएको भन्दै माओवादीका भ्रातृ संगठनले विरोध गरिरहेका छन्। उनीहरूले युट्युबबाट गीत हटाउन दबाब दिइरहेका छन्।
यस्तो वेला अध्यक्ष दाहालले यसलाई सहज रूपमा लिन आग्रह गरेका हुन्। यो गीतमा तर्कवितर्क गर्न सकिने उनको भनाइ थियो।
“हिजो जनयुद्धका वेलाका महिलाहरूका वीरता र कीर्तिमान कायम गरेका कुरा पनि छन्, त्यति वेला राज्यको पक्षबाट भएका दमन अत्याचारका पक्ष पनि छन्,” सोमबार धनगढीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले भने, “यसका कारण यो विषय (प्रकाश सपुतको गीतमा) मेरो विचारमा अहिले हामी उत्तेजित कोही हुनुपर्ने छैन। तर्क-वितर्क हुन्छन्। पक्ष-विपक्ष हुन्छ। त्यसलाई सहज, स्वाभाविक रूपले लिनुपर्छ।”
सशस्त्र युद्धमा लागेका कार्यकर्ताले दुःख पाइरहेको कुरा आफ्नो स्मरणमा रहेको उनले बताए।
“जनयुद्धलाई संविधानसभामा ल्याउन ठीक थियो कि थिएन! ल्याई सकेपछि मैले हेर्दा कतार, मलेसिया जाँदा जनयुद्धमा सहभागी लडाकूले त्यहाँ बडो दुःखपूर्ण जीवन बिताएको देखेको छु,” दाहालले भने, “मैले त्यहाँ जतिलाई भेटें उहाँहरू भन्नुहुन्थ्यो- कमरेड हामीलाई भन्नुस्, तपाईंलाई अप्ठ्यारो पर्यो भने हामी जस्तोसुकै त्याग गर्न तयार छौं। हामी बिग्रेका छैनौं, विचलित छैनौं। देशको निम्ति, राष्ट्रका निम्ति, शान्तिमा आउनै पर्थ्यो।”
केही नेता-कार्यकर्ता शान्ति प्रक्रियामा आउन गलत थियो पनि भनिरहेको उनले बताए। यो विषय अहिले मात्रै नभएर पछिसम्म पनि चर्चा भइरहने दाहालको भनाइ थियो।