बाबुराम भट्टराईको नजरमा कुन पार्टी कस्तो? (पूर्ण पाठ)
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सत्ता साझेदार नेपाली कांग्रेसदेखि विवेकशील साझासम्मका दलका कमिकमजोरी औल्याएका छन्।
शनिबार शुरू भएको जसपाको संघीय परिषद् बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै भट्टराईले सबै दलका विषयमा जसपाको दृष्टिकोण कस्तो हुनुपर्ने भन्दै चिरफार गरेका हुन्। भट्टराईले प्रस्तुत गरेको ३३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा कांग्रेसलाई ‘उदरवादी-पुँजीवादी संसदीय लोकतान्त्रिक धारको नेतृत्व गर्ने दल’ भनेका छन्।
उनले कांग्रेस र जसपाबीच केही समानता रहेको औल्याएका छन्। “नेपाली कांग्रेस र जनता समाजवादी पार्टी बीचको समानाता- यी दुवै मूलतः लोकतान्त्रिक धारका दल हुन्,” भट्टराईले भनेका छन्, “तर, कांग्रेस ‘उदार लोकतन्त्र’मा विश्वासग गर्ने दल हो भने जसपा ‘समावेशी लोकतन्त्र’मा विश्वास गर्ने दल हो।”
केही विभन्नता भए पनि कांग्रेससँग सहकार्य हुनसक्ने उनले उनको मत छ। “लोकतन्त्रको विश्वव्यापी मूल्यमान्यताको रक्षाको प्रश्नमा कांग्रेससँग जसपाको सहकार्य हुन सक्दछ,” भट्टराईले भनेका छन्, “बाँकी प्रश्नमा प्रतिस्पर्धा र संघर्ष हुन्छ।”
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेमकिपा, नेकपा मसाल, राष्ट्रिय जनमोर्चा लगायत नेकपाका अन्य घटकहरू सबै एउटै भएको भट्टराईको निश्कर्ष छ। “यी सबै समूहको विचार उत्पतिको आधार एउटै हो,” उनले भनेका छन्, “हाम्रो पार्टीको दृष्टिकोणमा नेकपाका घटकहरू आधारभूत रुपमा उस्तै हुन्। एउटै पेन्सिलका फरकफरक टुक्रा मात्रै हुन्।”
उनले राप्रपा र राप्रपा नेपाललाई रुढिवादी धारको प्रतिनिधित्व गर्ने दल भएको निश्कर्ष निकालेका छन्। उनले भनेका छन्, “शक्तिले सानो भए पनि विचारले यो दल सबैभन्दा दक्षिणपन्थी, प्रतिक्रियावादी र पश्चगामी दल हो। यो मूलत लोकतन्त्रविरोधी, सामन्ती तथा रुढीवादी निरंकूशतावादी विचारको दल हो।”
त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोपपा)लाई विचार, सिद्धान्त र अजेन्डामा प्रष्टता नभएको दल भनेका छन्।
विवेकशील-साझा पार्टी लगायतका अन्य दललाई विचार र शक्ति दुवै दृष्टिकोणले अस्तित्व संकटको अवस्थामा पुगेको औल्याएका छन्। यी दलभित्र रहेका केही व्यक्ति पश्चगामी र केही प्रगतिशील विचार बोकेका रहेको उल्लेख गर्दै संवाद र सहकार्य गर्न सकिने बताएका छन्।
यससँगै संघीय परिषद् अध्यक्ष भट्टराईले कार्यकर्तालाई स्वरोजगार र आत्मनिर्भर बनाउन प्रेरित गर्नुपर्ने प्रस्ताव गरेका छन्। उनले भनेका छन्, “कार्यकर्ता पंक्तिलाई स्वरोजगार र आत्मनिर्भर बन्न प्रेरित गर्नुपर्दछ।”
यससँगै उनले पार्टी कार्यक्रमलाई पनि मितव्ययी बनाउनुपर्ने बताएका छन्। “तठकभडकपूर्ण कार्यशैलीलाई प्रोत्साहन गर्नु हुँदैन। थोरै खर्चमा धेरै परिणाम निकाल्ने मितव्ययी कार्यप्रणाली अवलम्बन गर्नु पर्दछ,” भट्टराईले भनेका छन्।
त्यस्तै, कार्यकर्तालाई अध्ययनशील बनाउनुपर्ने उनको प्रस्ताव छ। उनले भनेका छन्, “हाम्रो पार्टीपंक्ति निरन्तर अध्ययनशील हुनु पर्दछ। कुनै घटना, प्रवृति वा व्यक्तिप्रति हतारोमा निश्कर्ष निकाल्नु हुँदैन।”