टिकट विनै जहाजमा चढेको घटना छानबिन समितिले बुझायो प्रतिवेदन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उडान भर्न लागेको नेपाल एयरलाइन्सको विमानमा पासपोर्ट र भिसा नभएका एक युवक पुगेको घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ।
आइतबार गृह मन्त्रालयमा समितिका संयोजक अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको हो।
९ फागुन राति हवाईजहाजको टिकट र भिसा नभएको व्यक्ति विमानस्थलभित्र छिरेर जहाजसम्म पुगेपछि सुरक्षाबारे चर्चा-परिचर्चा भएको थियो। गृह मन्त्रीस्तरीय निर्णयबाट १३ फागुनमा समिति गठन गरिएको थियो।
समितिमा महासेनानी अनुप अधिकारी, प्रहरी उपरीक्षक वेद विष्ट, कामु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, उप-अनुसन्धान निर्देशक विष्णमणि आचार्य, हवाई सुरक्षा निर्देशक वासुदेव भट्टराई, नेपाल वायु सेवा निगमका निर्देशक अनिल घिमिरे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल र गृह मन्त्रालयका उपसचिव गोमा चेम्जोङ सदस्य रहेका थिए।
समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री खाँणले रिपोर्ट कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने बताए। “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न निकायको तालमेल हुन्छ। तसर्थ कार्यान्वयनका लागि पनि सबै निकायको तालमेल चाहिन्छ,” गृहमन्त्री खाँणले भने, “सबैसँगको तालमेलमा रिपोर्ट कार्यान्वयनको प्रक्रिया अगाडि बढ्छ।”
प्रतिवेदन बुझाउँदै अध्यागमन विभागका महानिर्देशक तथा समितिका संयोजक भट्टराईले प्रहरी प्रतिवेदन, अभियुक्तलाई विमानस्थलमै पुर्याएर लिएको जानकारी तथा सीसीटीभी फुटेजका आधारमा प्रतिवेदन तयार पारेको बताए।