सांसद मोहन बानियाँ निलम्बित
बलात्कारको अभियोगमा पक्राउ परेका प्रतिनिधि सभाका सदस्य मोहन बानियाँ निलम्बनमा परेका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी दिएका छन्। प्रतिनिधि सभा नियमावली २०७५ को नियम २४४ को उपनियम ३ बमोजिम उनी निलम्बनमा परेको सभामुख सापकोटाले जानकारी दिए। कुनै सांसद निलम्बनमा परेमा संसद् बैठकमा वा संसद् नबसेको वेला सूचना टाँसेर जानकारी दिनुपर्ने व्यवस्था छ।
प्रतिनिधि सभाको नियमावली २४४ को उपनियम ३ मा भनिएको छ, ‘कुनै सदस्यलाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी प्राप्त भएमा त्यस्तो सदस्यलाई प्रहरी हिरासतमा रहेको अवस्थामा वा प्रचलित कानून बमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षका लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुनेछैन र त्यस्तो अवधिभर निजको पारिश्रमिक, सेवा र सुविधा स्थगित हुनेछ।’
उनी विरुद्ध बलात्कार आरोपमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय, बाँकेले अनुसन्धान थालेको थियो। त्यही क्रममा बाँकेको अपराध अनुसन्धान शाखाले २ फागुनमा जिल्ला अदालत, बाँकेबाट सांसद बानियाँलाई पक्राउ गर्न अनुमति पाएको थियो।
पक्राउ पुर्जी जारी भएपछि सांसद बानियाँ १६ फागुनमा आफैं जिल्ला प्रहरी कार्यालय पुगेका थिए। उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
त्यही अनुसार जिल्ला प्रहरी कार्यालयले सांसद बानियाँ हिरासतमा रहेको जानकारी सभामुखलाई पठाएको हो। त्यसका आधारमा सभामुख सापकोटाले उनी निलम्बनमा परेको प्रतिनिधि सभामा जानकारी दिएका हुन्।
मुगुको खत्याड गाउँपालिका–३ का बानियाँ प्रतिनिधि सभा सदस्य हुन्। उनी नेकपा (एमाले) को समानुपातिकबाट प्रतिनिधि सभा सदस्य बनेका हुन्।