नेपाल सहित १४१ देशले गरे युक्रेनको पक्षमा मतदान
संयुक्त राष्ट्रसंघको विशेष महासभामा नेपाल सहित १४१ देश रूसी आक्रमण विरुद्ध युक्रेनको पक्षमा उभिएका छन्।
गएराति भएको मतदानमा नेपालले युक्रेनको पक्षमा मत दिएको हो। राष्ट्रसंघले युक्रेनमाथि आक्रमण रोक्न र आफ्ना सैनिक फिर्ता गर्न रूससँग माग गर्दै प्रस्ताव पारित गरेको छ। यसमा नेपाल सहित १४१ देशले मत दिएका छन्।
यसको विपक्षमा पाँच देशले मात्रै मत दिएका छन्। जसमा रुस सहित बेलारुस, उत्तर कोरिया, इरिट्रिया र सिरिया रहेका छन्। रूसी सेनाले बेलारुस भएर पनि युक्रेनमा आक्रमण गरिरहेको छ।
नेपालका छिमेकी राष्ट्र भारत र चीन भने मतदानमा अनुपस्थित रहे। त्यस्तै, ३४ देशले मतदानमा भाग लिएनन्। त्यस्तै, सार्कका सदस्य राष्ट्र पाकिस्तान, बाङ्लादेश र श्रीलंका पनि मतदानमा भाग लिएनन्।
एक सातादेखि रूसले युक्रेनमाथि आक्रमण गरिरहेको छ। नेपालले शुरूआतदेखि नै यसको विरोध गरेको थियो।