‘व्याख्यात्मक घोषणा आँखामा छारो हाल्ने प्रयास मात्र हो’
प्रगतिशील रूपान्तरण आन्दोलनले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्टसँग प्रतिनिधि सभाबाट पारित गरिएको व्याख्यात्मक टिप्पणीलाई जनताको आँखामा छारो हाल्ने प्रयास भएको जनाएको छ।
“सत्तान्धताका कारण नेताहरूलाई यति पनि हेक्का रहेन कि एमसीसीको व्याख्यात्मक टिप्पणीको कुनै कानूनी हैसियत हुँदैन,” आन्दोलनका संयोजक श्याम श्रेष्ठद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, “यो जनताको आँखामा छारो हाल्ने र भ्रम छर्ने प्रयास मात्र हो।”
सत्ता गठबन्धनमा रहेका दलका नेताहरूले आफ्नो अनुहारमा आफैंले कहिल्यै नपखालिने गरी हिलो पोत्ने काम गरेको विज्ञप्तिमा दाबी गरिएको छ। निजीकरणबाट बचेको शक्तिशाली नेपाल विद्युत् प्राधिकरणलाई विभाजित र कमजोर बनाउँदै ऊर्जा क्षेत्रलाई निजीकरण र नवउदारीकरणको दलदलमा डुबाउने खेल भएको आन्दोलनको निष्कर्ष छ।
प्रतिनिधि सभाबाट आइतबार अनुमोदन भएको एमसीसी कम्प्याक्टले नेपालको सार्वभौमसत्तालाई अरू धेरै खुम्च्याउने, नेपाललाई अमेरिका र चीनको भीषण द्वन्द्वको मैदान बनाउने र असंंलग्न राष्ट्र नेपाललाई अमेरिकाको इन्डो-प्यासिफिक रणनीतिको हिस्सा बनाउने विज्ञप्तिमा उल्लेख छ।