एमाले-कांग्रेस नेताहरूले गरे लोकतन्त्रमाथिको चुनौतीबारे छलफल
सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष नेकपा (एमाले) नेताहरूबीच लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेका दलहरूबीच आधारभूत मुल्य मान्यतामा एक ठाउँ उभिनुपर्ने विषयमा छलफल भएको छ।
बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा शनिबार साँझ दुवै दलका नेताहरूबीच एमाले-कांग्रेस जस्ता दलहरू एक ठाउँमा उभिनुपर्ने विषयमा छलफल भए पनि ठोस सहमति भने जुट्न नसकेको नेताहरूले बताएका छन्।
छलफलबारे जानकारी दिंदै एमाले महासचिव शंकर पोखरेलले भने, “लोकतान्त्रिक आन्दोलनमा जुन प्रकारका चुनौतीहरू देखिएका छन्, त्यसमा ठूला राजनीतिक दलहरूबीच आधारभूत मुल्यहरूका विषयमा सहमति कायम गर्नुपर्छ भन्ने विषयमा छलफल गरिरहेका छौं।”
सत्ता गठबन्धनबीच विवाद बढिरहेका वेला एमाले र कांग्रेसले लोकतान्त्रिक गठबन्धनको विषयमा छलफल अघि बढाएको हो। महासचिव पोखरेल भने, “मुलुकको लोकतान्त्रिक भविष्य र राष्ट्रिय हितका सन्दर्भमा दुई पार्टीबीच निरन्तर छलफल गर्नुपर्छ भन्ने कुरा भएको छ।”
कांग्रेसले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट संसद्बाट अनुमोदनमा सहयोग गर्न गरिएको आग्रह भने एमालेले स्वीकारिसकेको छैन। यो विषयमा पहिले सत्तागठबन्धनको धारणा आउनुपर्ने र सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि समीक्षा हुनुपर्ने अडान एमालेले दोहोर्याएको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूहरू एमसीसी सकेसम्म राष्ट्रिय सहमतिमा पारित गर्नुपर्ने प्रस्ताव राखेको बताए। मन्त्री कार्कीले भने, “एमाले नेताहरूले भने संसद् प्रवेश गर्न पाउनुपर्ने लगायतका पुरानै अडान राख्नुभयो, बैठकमा ठोस सहमति भइसकेको छैन।”
छलफलमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव पोखरेल, उपमहासचिव विष्णु रिमाल र कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चार मन्त्री कार्की सहभागी थिए।