मानव अधिकार आयोगले भन्यो- विरोधलाई संयमित बनाऊ, बढी बल प्रयोग नगर
राष्ट्रिय मानव अधिकार आयोगले शान्तिपूर्ण प्रदर्शनलाई संयमित बनाउन र प्रदर्शनकारीमाथि बढी बल प्रयोग नगर्न आग्रह गरेको छ।
अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताको विरोधमा विभिन्न राजनीतिक दल र संघसंस्थाले विरोध प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनका क्रममा प्रहरीसँग छलफड र तोडफोड भएका छन्।
त्यसलाई ध्यानमा राख्दै आयोगले प्रदर्शनलाई संयमित बनाउन आग्रह गरेको छ। आयोगका प्रवक्ता टीकाराम पोखरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आफ्नो विरोध प्रदर्शनलाई शान्तिपूर्ण बनाउन, सर्वसाधारण व्यक्तिका सम्पत्ति र भौतिक संरचनामा क्षति नपुर्याउन, विरोध प्रदर्शन गर्दा संयमित हुन तथा आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारको उपभोगमा अवरोध नपुर्याउन आयोग विरोध प्रदर्शनमा उत्रिएका राजनीतिक दल, राजनीतिक दलका भ्रातृ सङ्गठन तथा सर्वसाधारणलाई आग्रह गर्दछ।”
त्यस्तै, आयोगले प्रदर्शनकारीमाथि बढी बल प्रयोग नगर्न सुरक्षाकर्मीलाई सचेत गराएको छ। आयोगले भनेको छ, “नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको सम्मान गर्न, आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न र शान्ति सुरक्षा कायम गर्दा संयमित हुन आयोग नेपाल सरकार एवं सम्बद्ध निकायहरूलाई आग्रह गर्दछ।”