प्रहरीको गोली लागेर भारतीय नागरिकको मृत्यु
प्रहरीको गोली लागेर गएराति बारामा एक जना भारतीय नागरिकको ज्यान गएको छ।
नेपालबाट भारततर्फ गाँजा लगिरहेको सूचनाका आधारमा गएराति ८ बजेतिर प्रहरी टोली खटिएको थियो। गस्तीमा रहेको प्रहरी टोलीमाथि सिम्रौनगढ नगरपालिका–२ महुयाहीमा गाँजा तस्करीमा संलग्न व्यक्तिले एक राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता राजेश थापाले बताए।
उनका अनुसार, जवाफी फायर गर्दा गाँजा तस्करीमा संलग्न एक जना भारतीय नागरिक घाइते भएका थिए। उनको कम्मरमा गोली लागेको थियो।
घाइते युवकलाई उपचारका लागि कलैया अस्पताल ल्याइएको थियो। उपचारका क्रममा गएराति १ः३० उनको मृत्यु भएको प्रवक्ता थापाले बताए। उनको परिचय खुल्न सकेको छैन। उनको शव प्रदेशिक अस्पतालमा राखिएको छ।
त्यस्तै, एक जना भारतीय नागरिक पक्राउ परेका छन्। उनी भारतको विहारस्थित मोतिहारी जिल्लाको पिप्राका ४० वर्षीय हृदेश गिरी रहेको थापाले जानकारी दिए। (रासस)