एमसीसीमा दाहाल र नेपालले सहयोग नगरे गठबन्धन टुट्न सक्छ: रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता पारित गर्न सत्तारूढ दलले सहयोग नगरे पाँच दलीय गठबन्धन टुट्न सक्ने बताएका छन्।
तनहुँको दमौलीमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा काङ्ग्रेस नरहेको प्रष्ट पारे।
एमसीसी असफल बनाएर गठबन्धन कायमै राख्छौं भन्ने कुरा नगर्न गठबन्धनका नेतालाई पौडेलले आग्रह गरे। “उस्तै परे चुनावमा पनि जान सकिन्छ, चुनाव घोषणा पनि हुन सक्छ,” उनले भने।
एमसीसी अमेरिकी जनताको उपहार भएको बताउँदै वरिष्ठ नेता पौडेलले यस विषयमा अनावश्यक भ्रम फैलाइएको जिकिर गरे। “एमसीसी अमेरिकी साम्राज्यवाद होइन, यो विकास परियोजना हो,” उनले भने, “जनताका बीचमा भ्रम फैलाउने काम गरिएको छ।”
सत्तारूढ दलले सहयोग नगरे प्रमुख प्रतिपक्ष नेकपा (एमाले) को सहयोग लिएर पनि एमसीसी पारित गर्नुपर्ने उनको भनाइ थियो। “सरकारले ल्याएको प्रस्तावको गठबन्धनका दलले सहयोग गर्नुपर्छ, गठबन्धनले साथ नदिए प्रमुख प्रतिपक्षी दलको सहयोगमा भए पनि एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस छ,” पौडेलले भने।