प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीलाई भने– एमसीसी पारित गर्न सघाउनुस्
प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई संसद्मा टेबल भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता पारित गर्न सघाउन आग्रह गरेका छन्।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले अध्यक्ष ओलीलाई एमसीसीमा सघाउन आग्रह गरेका हुन्।
भेटमा सहभागी एमाले उपमहासचिव विष्णु रिमालले हिमालखबरसँग भने, “प्रधानमन्त्रीज्यूले एमसीसी पारित गर्न सघाउन आग्रह गर्नुभयो, हाम्रो पार्टी अध्यक्षज्यूले पहिला हामीलाई संसद्मा प्रवेश गर्ने वातावरण बनाउनुस् भन्नुभयो।”
आफूहरूले कारवाही गरेका सांसद्हरूलाई सभामुखले नहटाएको भन्दै एमालेले प्रतिनिधि सभा बैठक अवरुद्ध गर्दै आएको छ। संसद् सञ्चालन हुने वातावरण भए मात्रै एमसीसीमा सघाउन सकिने धारणा ओलीले बैठकमा राखेका हुन्।
सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले एमसीसीको विपक्षमा मतदान गर्ने भएपछि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले संघीय संसद्को सबैभन्दा ठूलो दल एमालेलाई गुहारेका हुन।
भेटवार्तामा प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का लगायत सहभागी थिए।
विद्युत प्रसारण लाइन निर्माण र सडक सुधार गर्न नेपालले ५० करोड डलर अनुदान प्राप्त गर्ने एमसीसी कम्प्याक्ट ८ फागुनमा प्रतिनिधि सभामा टेबल भएको छ।