आन्दोलनका नाममा सम्पत्ति तोडफोड र हिंसा अस्वीकार्य: गृह मन्त्रालय
गृह मन्त्रालयले विगत केही दिनयता भइरहेको हिंसाजन्य गतिविधि र सार्वजनिक तथा निजी सम्पत्ति तोडफोडका घटनाको छानबिन थालेको छ।
८ फागुनमा संसद् भवन जान लागेका जनप्रतिनिधिलाई अवरोध र अपमानित गरेको भन्दै मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको हो। यस्ता घटनाको छानबिन हुने गृह मन्त्रालयको भनाइ छ।
“त्यस्ता हिंसात्मक कार्यको नेपाल सरकार भर्त्सना गर्दछ र त्यस्ता घटनामा संलग्न व्यक्तिहरू छानबिनको क्रममा समेत रहेका छन्,” गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, “यस्ता प्रकृतिका घटनाको नेपाल सरकार गम्भीरतापूर्वक निगरानी गरिरहेको छ।”
संवैधानिक हक अनुसार शान्तिपूर्ण प्रदर्शनमा उत्रिएकाहरूप्रति भने सरकार र सुरक्षाकर्मीले संयम अपनाइरहेको गृह मन्त्रालयले जनाएको छ।