नक्कली रिपोर्ट बनाएका गंगालालका ल्याब प्रमुख विरुद्ध मुद्दा दायर
गंगालाल राष्ट्रिय हृदय केन्द्रका प्रयोगशाला प्रमुख वरिष्ठ ल्याब टेक्नोलोजिस्ट विनोदकुमार यादव विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको छ।
कोरोनाभाइरसको दोस्रो लहर उत्कर्षमा पुगेका वेला ल्याब प्रमुख यादवले पीसीआर परीक्षणको नक्कली रिपोर्ट बनाउने र बिक्री गरेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान थालेको थियो। उनले नक्कली रिपोर्ट दिएको पुष्टि भएको दाबी गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
कोरोना महामारीको पहिलो लहर शुरू भएदेखि नै बसुन्धाराको धौलागिरि क्लिनिकबाट स्वाब सङ्कलन र गंगालाल हृदयरोग केन्द्रमा परीक्षण गरी गलत रिपोर्ट दिएको भनी यादव विरुद्ध पीडितले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा उजुरी दिएका थिए। उजुरीका आधारमा प्रहरीले अनुसन्धान गर्दा यादवले धौलागिरि क्लिनिकको नामबाट बिल काटेर गंगालाल हृदयरोग केन्द्र र त्रिवि शिक्षण अस्पतालको ल्याब रिपोर्ट दिने गरेको फेला पारेको थियो।
यसरी रिपोर्ट दिए बापत उनले एक जनाको दुई हजार पाँच सय रुपैयाँ लिने गरेको पाइएको थियो। उनले स्वाब सङ्कलन गरेर परीक्षण नै नगरी ‘फोटोशप’ गरेर रिपोर्ट दिएको महाराजगञ्ज प्रहरी प्रभागको अनुसन्धानमा खुलेको थियो।
उनको कम्प्युटरको अभिलेख हेर्दा ३० देखि ४० लाख रुपैयाँ बराबरको नक्कली रिपोर्ट बनाएको हुन सक्ने भन्दै महाराजगञ्ज प्रहरीले कारबाही गर्न सिफारिश गरेको थियो।
उनी विरुद्ध उजुरी परेपछि तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले छानबिन गर्न निर्देशन दिएका थिए। त्रिपाठीको निर्देशनपछि अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले अस्पतालका चिकित्सक डा. आशेषगोपाल अमात्यको संयोजकत्वमा तीन सदस्यीय आन्तरिक छानबिन समिति बनाएका थिए। यादवले संस्थाको लेटरप्याडको दुरुपयोग गर्दै नक्कली कागजात तयार गरी सङ्क्रामक रोग फैलाउने काम गरेको ठहर गर्दै समितिले तीन महीना निलम्बन गरी स्पष्टीकरण सोधेको थियो।
अस्पतालले तीन महीना निलम्बन र कारबाही सिफारिश गरेपछि यादवले आफ्नो निलम्बनको कारबाही विरुद्ध पाटन उच्च अदालतमा निवेदन दिएका थिए। तर, अदालतले उनको निवेदन खारेज गरेको थियो।
शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्र सञ्चालक समितिको २८ साउनमा बसेको बैठकले विभागीय सजायको आदेश दिनका लागि उपसमिति गठन गरेको थियो। यसअघि नै उक्त उपसमितिले ‘भविष्यमा केन्द्रको सेवाका लागि अयोग्य नठहरिने गरी’ जागीरबाट निष्कासनको सजाय तोकेको थियो।
केन्द्रका सञ्चालक समितिका सदस्य विजय राईको संयोजकत्वमा गठन गरिएको उपसमितिमा स्वास्थ्य मन्त्रालयका कानून उपसचिव मानबहादुर बस्नेत र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा. शंकर काफ्ले सदस्य थिए।
अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।