न्यायाधीशको लिखित परीक्षामा उत्तीर्ण एक उम्मेदवार भ्रष्टाचारका अभियुक्त
न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिएको लिखित परीक्षामा उत्तीर्ण एक उम्मेदवार भ्रष्टाचार मुद्दाका अभियुक्त रहेको पाइएको छ।
आयोगले आइतबार प्रकाशित गरेको लिखित परीक्षाको नतीजामा ओमबहादुर सोडारी, चन्द्रकुमार पोखरेल र भुवन गिरी मात्रै उत्तीर्ण भए। जबकि, १८ जिल्ला न्यायाधीशका लागि आवेदन माग गरिएको थियो।
लिखित परीक्षा उत्तीर्ण गरेका पोखरेल भ्रष्टाचारको मुद्दामा निलम्बित उपन्यायाधिवक्ता हुन्। उनी लगायत १८ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक अर्ब २४ करोड ४५ लाखभन्दा बढी राजस्व चुहावट गरेको दाबी गर्दै मुद्दा दायर गरेको छ।
१२ माघमा विशेष अदालत काठमाडौंमा दायर मुद्दामा ‘उपन्यायाधिवक्ता पोखरेल लगायतले १५ जेठ २०७७ मा खानी तथा भूगर्भ विभागद्वारा गठित समितिमा बसेर कानूनको आफूखुशी गलत व्याख्या गरी कम्पनीहरूलाई क्षतिपूर्ति असुल्नबाट उन्मुक्ति दिने बदनियत राखेको’ उल्लेख छ।
लिखित परीक्षा उत्तीर्ण भुवन गिरीलाई भने गत १४ माघमा बसेको न्याय सेवा आयोगको बैठकले सहसचिवमा बढुवा गरिसकेको छ।