चर्चित फूटबलर हरि खड्का नक्कली प्रमाणपत्रमा दोषी ठहर
चर्चित फूटबल खेलाडी हरि खड्कालाई विशेष अदालतले दोषी ठहर गरेको छ।
झूटो प्रमाणपत्र बुझाएको मुद्दामा विशेष अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले खड्कालाई दोषी ठहर गरेको हो।
उनले झूटो प्रमाणपत्र बुझाएर सरकारी जागीर खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ माघमा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।
खड्काको प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियारमा उजुरी परेको थियो। त्यसका आधारमा अनुसन्धान गर्दा प्रमाणपत्र नक्कली पाइएको दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको थियो।
उनी भारतको उत्तर प्रदेशस्थित माध्यमिक शिक्षा परिषद्, बनारसबाट जारी भएको शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी १ कात्तिक २०५५ मा खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा नियुक्त भएका थिए। सोही प्रमाणपत्रको आधारमा उनी १४ पुस २०५९ मा प्रहरी नायव निरीक्षकमा बढुवा भएका थिए।
बनारसबाट ल्याएका तिनै शैक्षिक प्रमाणपत्र नक्कली भएको जनाउँदै अदालतले उनलाई दोषी ठहर गरेको हो।