धेरै बोलेर पनि बिग्रिएको छ: नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले धेरै बोलेर पनि बिग्रिएको बताएका छन्।
बिहीबार सिंहदरबारमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठसँगको छलफलपछि अध्यक्ष नेपालले सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिए। अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताका विषयमा के निर्णय भयो भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष नेपालले भने, “धेरै बोलेर पनि बिग्रिएको छ।”
एमसीसीका विषयमा सत्तारूढ गठबन्धनभित्र विवाद देखिएको छ। नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) एमसीसी सम्झौता संसद्बाट पारित गर्नुपर्ने पक्षमा उभिएका छन्। माओवादीले यसको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। राष्ट्रिय जनमोर्चाले सडक प्रदर्शन गर्दै आएको छ।
एकीकृत समाजवादीले भने अझै कुनै निर्णय गरेको छैन। एकीकृत समाजवादीका भ्रातृ संगठनले यसको विरोध गर्दै आएका छन्।
एमसीसी सम्झौताको विषयमा छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक बस्न लागेको छ। त्यसअघि नेपाल, दाहाल र श्रेष्ठबीच छलफल भएको हो।
तीन दलबीच भएको छलफलका विषयमा अध्यक्ष नेपालले धेरै बोल्न चाहेनन्। उनले पाँच दलको बैठकबाट टुङ्गो लाग्ने बताए।
माओवादी अध्यक्ष दाहालले भने पाँच दलीय गठबन्धन बचाउनेमै छलफल भएको बताए। गठबन्धन बचाएर कसरी एमसीसीलाई निकास दिन सकिन्छ भन्नेमै लागिरहेको प्रतिक्रिया दिए।