नेपालसँगको छलफलपछि दाहालले भने- हाम्रो जोड सकेसम्म गठबन्धन बचाउनेमै छ
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पाँच दलीय गठबन्धन बचाउनेमै जोड रहेको बताएका छन्।
सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकअघि माओवादी अध्यक्ष दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठबीच सिंहदरबारमा छलफल भएको छ। तीन दलका नेताबीच भएको छलफलपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले पाँच दलीय गठबन्धन बचाउनमै जोड रहेको बताए।
अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताका विषयमा तीन दलबीच सहमति भयो त भन्ने प्रश्नमा दाहालले भने, “त्यसरी तीन दल भनेर लागेकै छैनौं।”
उनले तीन दलबीच भएको छलफलमा पनि सत्तारूढ गठबन्धन बचाउने र एमसीसीलाई निकास दिने विषयमा छलफल भएको बताए। “पाँच दलीय गठबन्धन कसरी बचाउने र एमसीसीलाई कसरी निकास दिने भन्नेमै छौं,” दाहालले भने।
सत्तारूढ गठबन्धनको आज बेलुका ५ बजे बैठक बस्दै छ। त्यसकै तयारीका लागि तीन दलले छलफल गरेको उनको भनाइ थियो। “हाम्रो जोड सकेसम्म गठबन्धन बचाउनेमै छ,” दाहालले भने।
सत्तारूढ गठबन्धनका कांग्रेस र जसपा एमसीसी पारित गर्नुपर्ने पक्षमा छन् भने माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा विपक्षमा छन्। यही विषयलाई लिएर गठबन्धनका दलबीच विवाद देखिन थालेको छ।