कमल थापाले ब्युँताए राप्रपा नेपाल
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्ष कमल थापाले राप्रपा नेपाल ब्युँताएका छन्।
थापाले आफ्नै नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गठन गरेका हुन्। यसअघि राप्रपासँग एकीकरण गर्दा पनि उनी राप्रपा नेपालको अध्यक्ष थिए।
“देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तक साथीहरूको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेका छौं,” थापाले भने।
थापाले ७ फागुनमा काठमाडौंमा कार्यक्रम गरी राप्रपा नेपालको घोषणा गर्ने बताए। उनले भने, “केही समयको अलमलपछि फेरि हामी आफ्नो घर फर्केका छौं। यस कार्यलाई सम्भव तुल्याइदिनुहुने तथा अन्तरिम र सङ्क्रमणकालीन अवस्थामा राप्रपा नेपाललाई जीवन्त तुल्याई राख्न महत्त्वपूर्ण योगदान दिनुहुने राप्रपा नेपालका नेता लाक्पा तामाङप्रति म हार्दिक आभार व्यक्त गर्दछु।”
२०६२–६३ को आन्दोलनताका उनको नेतृत्वमा रहेको राप्रपा नेपालले राजतन्त्रका पक्षमा वकालत गरेको थियो। अहिले राप्रपा नेपाल ब्युँताउँदा भने उनले राजतन्त्रको मुद्दा छाड्ने सङ्केत गरेका छन्।
अब भने उनले हिन्दू राष्ट्रलाई प्राथमिकतामा राखेका छन्। एक अपील जारी गर्दै भनेका छन्, “राप्रपा नेपालको विरासतलाई निरन्तरता दिंदै अबदेखि ‘हिन्दू राष्ट्र, सुशासन र समृद्धि’ राप्रपा नेपालको मूल अजेन्डा हुनेछ। जनताको भावना र देशको धरातलीय यथार्थलाई दृष्टिगत गर्दै केही मान्यताहरू, प्राथमिकताहरू र कार्यनीतिमा हामी समय अनुकूल परिमार्जन गर्नेछौं।”
उनले २३ माघमा राप्रपा छाडेको घोषणा गरेका थिए। त्यससँगै नयाँ पार्टी खोल्ने तयारीमा जुटेका थापाले राप्रपा नेपाललाई नै ब्युँताउने निर्क्योल गरेका छन्।
थापाले आइतबार जारी गरेको अपीलमा राप्रपा नेपालमा आबद्ध हुन राप्रपामा रहेका आफूपक्षीयी नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्। “राप्रपा नेपालको यो अभियान र यात्रामा सहभागी हुन म सबै साथीहरूमा आह्वान गर्दछु,” थापाले भनेका छन्, “विगतमा सँगै काम गरेका साथीहरूलाई विना कुनै द्विविधा राप्रपा नेपालमा आबद्ध हुन म आग्रह गर्दछु।”
थापाले आगामी स्थानीय तहको चुनावमा भाग लिने भएका छन्। उनले अपीलमा भनेका छन्, “आगामी स्थानीय तहको निर्वाचनमा हामी सक्रियताका साथ सहभागी हुनेछौं।” सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको चुनाव घोषणा गरेको छ।
राप्रपासँगको एकीकरणलाई उनले बाटो बिराएको भनेका छन्। “२०७३ सालदेखि हामीले बाटो बिरायौं। पार्टी ठूलो बनाउने नाममा अति महत्त्वाकाङ्क्षा र सत्ता केन्द्रित रणभुल्लमा पर्यौं,” थापाले भनेका छन्, “गम्भीर राजनीतिक भुलका श्रृङ्खलाहरू शुरू भए। असहज र गलत प्रवृत्तिहरूसँग सम्झौता गर्न थाल्यौं। फलस्वरूप हामी करीब पाँच वर्ष राष्ट्रिय राजनीतिमा करीब करीब निष्क्रिय, प्रभावविहीन हुन पुग्यौं।”