स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खोलिने, आयोगले गर्यो पत्राचार
सरकारले स्थानीय तहको चुनावको मिति तोकेसँगै निर्वाचन आयोगले पनि तयारी थालेको छ।
आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहलाई पत्राचार गरेर व्यवस्थापनका लागि विवरण माग गरेको छ। आयोगले चुनावका लागि आवश्यक पर्ने भवन, सवारी साधन, फर्निचर तथा अन्य भौतिक साधनको अवस्थाबारे विवरण मागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाएका छन्।
आयोगले छिट्टै सबै स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ। त्यसका लागि मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय राख्न भवनको विवरण माग गरेको छ। स्थानीय तहलाई कम्तिमा तीन वटा भवनको विवरण माघ मसान्तभित्र पठाइदिन आग्रह गरिएको छ।
आयोगले कम्तिमा दुई महीना स्थानीय तहमै मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय स्थापन गर्ने भएको छ। यससँगै चालु अवस्थामा रहेका कम्प्युटर, स्क्यानर र प्रिन्टरको पनि सम्बन्धित स्थानीय तहले नै व्यवस्था गर्नुपर्ने भएकाले पत्राचार गरिदिन मन्त्रालयलाई आग्रह गरेको छ।