काठमाडौंमा जोर-बिजोर प्रणाली हट्यो, १ फागुनदेखि विद्यालय खोल्न पाइने
कोभिड-१९ सङ्क्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा सवारी साधनमा लागू गरिएको जोर-बिजोर प्रणाली हटेको छ।
आइतबार बसेको काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारी साधनमा लगाइएको जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको हो। आज राति १२ बजेदेखि लागू हुने गरी जोर-बिजोर प्रणाली हटाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए।
कोभिड-१९ को सङ्क्रमण बढेपछि स्वास्थ्य मापदण्डमा कडाइ गर्दै काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली लागू गरिएको थियो। पछिल्लो पटक १४ फागुनदेखि निजी सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गरिएको थियो। आजदेखि त्यसलाई पनि हटाइएको हो।
त्यस्तै, १ फागुनदेखि काठमाडौं उपत्यकामा विद्यालय खोल्न पाइने भएको छ। तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले कोरोनाभाइरसको सङ्क्रमण घट्दै गएकाले स्वास्थ्य मापदण्ड पालना गरेर भौतिक रूपमा पठनपाठन गर्न सकिने निर्णय गरेको छ।
यसअघि आइतबार दिउँसो बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले १ फागुनबाट विद्यालय खोल्न र जोर-बिजोर प्रणाली हटाउन सरकारलाई सिफारिश गर्ने निर्णय गरेको थियो।