दुई दिन वर्षा र हिमपात, आइतबारबाट मौसममा सुधार आउने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज र भोलि देशका अधिकांश भागमा मेघ गर्जन सहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
अहिले देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसले गर्दा आगामी २४ घण्टामा देशका धेरैजसो स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षा हुने विभागले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।
त्यस्तै, केही भागमा आज असिना पनि पर्ने विभागले जनाएको छ। उच्च पहाडी र हिमाली क्षेत्रका धेरै स्थानमा हिमपात हुने विभागले आकलन गरेको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चटयाङ सहित वर्षाको सम्भावना छ।
यसै गरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।
शनिबार पनि प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। यससँगै पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
आइतबारदेखि भने देशभर आंशिक बदली रही मौसम सामान्यतया सफा रहने महाशाखाको प्रक्षेपण छ।
वर्षा र हिमपातका कारण चिसो बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।