गठबन्धनको निर्णय अत्यन्त सकारात्मक छ, उपयुक्त मिति प्रस्ताव गर्छौं: प्रमुख निर्वाचन आयुक्त
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले स्थानीय निर्वाचन सम्बन्धी गठबन्धनको निर्णय अत्यन्त सकारात्मक रहेको बताएका छन्।
बालुवाटारमा शनिबार बसेको सत्तारूढ गठबन्धनको निर्णय आफूले सञ्चार माध्यमबाट थाहा पाएको र त्यो सकारात्मक रहेको थपलियाको प्रतिक्रिया छ। “हाम्रो आधिकारिक धारणा त बैठकपछि मात्रै भन्न सक्छौं, व्यक्तिगत रूपमा भन्नुहुन्छ भने यो निर्णय अत्यन्त सकारात्मक छ,” प्रमुख निर्वाचन आयुक्त थपलियाले हिमालखबरसँग भने, “स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ अनुसार सरकारलाई सुझाव दिन्छौं।”
अब आवश्यक परामर्श गरेर स्थानीय तहको उपयुक्त मिति प्रस्ताव गरिने थपलियाले जानकारी दिए। आयोगले यसअघि आगामी १४ र २२ वैशाखमा चुनाव गर्न सुझाव दिएको थियो।
सत्तारूढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आगामी जेठभित्रै निर्वाचन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। उनले जेठभित्रै स्थानीय निर्वाचन हुने बताए।
स्थानीय तह निर्वाचन ऐन अनुसार २०७४ मा निर्वाचित स्थानीय जनप्रतिनिधिको म्याद ५ जेठ २०७९ मा समाप्त हुँदै छ। संविधान र प्रचलित कानूनले स्थानीय तह एक दिन पनि रिक्त हुने व्यवस्था गरेको छैन।