चुनावसँग आत्तिएका छैनौं, वैशाखमै सामना गर्न तयार छौं : नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वैशाखमा चुनाव भए पनि सामना गर्न तयार रहेको बताएका छन्।
शनिबार निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले चुनावसँग डराउने कुरा नभएको बताए। “चुनावसँग हामी आत्तिएका छैनौं। वैशाखमै चुनाव हुन्छ भने पनि हामी सामना गर्न तयार छौं,” नेपालले भने।
उनले जुनसुकै तहको चुनाव पहिले गर्दा पनि त्यसका लागि तयार रहेको बताए। स्थानीय, प्रदेश वा संघको चुनाव जति वेला गरे पनि एकीकृत समाजवादी सामना गर्न तयार रहेको उनको भनाइ थियो।
“स्थानीय चुनाव पहिले हुन्छ भने पनि सामना गर्न तयार छौं। केन्द्रीय चुनाव पहिले हुन्छ भने पनि सामना गर्न तयार छौं,” नेपालले भने।
चुनावको विषयमा भ्रम सिर्जना गर्न नहुने उनको भनाइ थियो। आज बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकमा पनि चुनावका विषयमा छलफल भएको र सबै सकारात्मक रहेको उनले बताए।
अध्यक्ष नेपालले भने, “जनतामा जाने कुरामा हामी सहज, स्वाभाविक र अझ खुशी पनि हुन्छौं।”
नेकपा (एमाले) का नेताहरूले चुनावको विषयमा भ्रम छर्न खोजेको उनको आरोप थियो। “चुनावबाट अरू आत्तिएका होलान्, गठबन्धनको एकतालाई तोड्न खोजिरहेका होलान्। भ्रम पैदा गर्ने कोशिश गरिरहेका होलान्,” नेपालले एमाले नेताहरूप्रति इङ्गित गर्दै भने, “अहिले चुनावको कुरा गरेपछि गठबन्धन दलको बीचमा उम्मेदवारीको विषय मिल्दैन, नमिलेपछि यो गठबन्धन टुट्छ। टुटेपछि फाइदा उठाउँला भने कोही ताकमा होलान्।”
आगामी चुनावसम्म गठबन्धन यथावत् रहने उनको भनाइ थियो। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस नेताहरूले गठबन्धनलाई चुनावसम्मै कायम राख्नुपर्ने बताएको अध्यक्ष नेपालको भनाइ थियो।
“आजको बैठकमा पनि कांग्रेसका नेताहरूले गठबन्धनलाई चुनावसम्मै कायम राखौं भन्ने प्रतिबद्धता गर्नुभएको छ,” नेपालले थपे, “प्रधानमन्त्रीले पनि त्यही हिसाबको प्रतिबद्धता व्यक्त गर्नुभएको छ।”
चुनावको विषयमा गठबन्धनले निर्णय गर्ने नेपालले बताए। यसमा प्रधानमन्त्री देउवा पनि सहमत रहेको उनको भनाइ छ। नेपालले भने, “प्रधानमन्त्रीले गठबन्धनले जे निर्णय गर्छ, त्यसको आधारमा चल्न म तयार छु, गठबन्धनले जति वेला चुनाव गर्ने भन्छ, त्यसका निम्ति पनि म तयार छु भनिसकेको हुनाले शंका उपशंका गर्नुपर्ने आवश्यकता छैन।”
आज बिहान बसेको गठबन्धनको बैठकले स्थानीय तहको चुनावको मिति तोक्ने विषयमा कानूनविद्सँग परामर्श गर्ने सहमति गरेको छ। कानूनविद्सँगको परामर्शपछि फेरि गठबन्धनको बैठक बस्ने भएको छ।