स्थानीय चुनावबारे सत्तारूढ गठबन्धनले फेरि कानूनविद्सँग परामर्श गर्ने
स्थानीय चुनावको मिति तय गर्ने विषयमा सत्तारूढ गठबन्धनले फेरि कानूनविद्सँग परामर्श गर्ने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले फेरि कानूनविद्सँग परामर्श गर्ने सहमति गरेको हो। त्यसपछि आजै अर्को बैठक बस्ने तय भएको नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले बताए।
बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै श्रेष्ठले भने, “कानूनविद्हरूसँग थप परामर्श गर्ने र आजै बेलुकी ४ बजे पुनः गठबन्धनको बैठक बस्ने गरी अहिलेको बैठक सकिएको छ।”
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेपछि आज सत्तारूढ गठबन्धनको बैठक बोलाएका थिए। बैठकमा राष्ट्रिय जनमोर्चा बाहेक चारै दलका शीर्ष नेता सहभागी थिए।
गठबन्धनको बैठकमा स्थानीय चुनावको मिति तोक्ने विषयमा छलफल भएको छ। स्थानीय चुनावबारे छलफल गर्न बैठक बोलाएको र त्यही विषयमा छलफल भएको माओवादी नेता श्रेष्ठले जानकारी दिए।
यसअघि पनि सत्तारूढ गठबन्धनले कानूनविद्सँग परामर्श गरेको थियो। उनीहरूले संविधानसँग बाझिएकाले ऐन संशोधन गर्नुपर्ने सुझाव दिएका थिए।
संविधानमा ६ महीनाभित्र स्थानीय तहको गाउँ वा नगर सभाको गठन गरिसक्नुपर्ने उल्लेख छ। जबकि, स्थानीय निर्वाचन सम्बन्धी ऐनमा स्थानीय तहका जनप्रतिनिधिको पदावधि सकिनुभन्दा दुई महीनाअघि चुनाव गर्नुपर्ने व्यवस्था छ।
आगामी ५ जेठमा स्थानीय तहका जनप्रतिनिधिको पदावधि सकिंदै छ। निर्वाचन आयोगले त्यसभन्दा अघि नै स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएको छ। तर, सत्तारूढ गठबन्धनले भने तीनै तहको चुनाव एकै पटक गर्ने भन्दै स्थानीय तहको निर्वाचन सार्न खोजेको छ।