बुस्टर डोजमा कोभिशिल्ड वा एस्ट्राजेनेका खोप दिइने
कोभिड-१९ विरुद्ध ६० वर्षभन्दा माथिका नागरिकलाई बुस्टर डोज तथा पहिलो डोजमा जुनसुकै खोप लगाएका व्यक्तिलाई पनि दोस्रो डोजमा कोभिशिल्ड वा एस्ट्राजेनेका खोप दिइने भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिवार कल्याण महाशाखाले ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई परिपत्र गरेर कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना, फाइजर वा भेरोसेल खोप लगाएका व्यक्तिलाई बुस्टर डोजका रूपमा कोभिशिल्ड वा एस्ट्राजेनेका खोप लगाउन सकिने जनाएको छ। डब्लूएओ सेज र राष्ट्रिय खोप सल्लाहकार समितिको सफारिशमा बुस्टर डोजमा कोभिशिल्ड वा एस्ट्राजेनेका खोप लगाउने सकिने मन्त्री स्तरीय निर्णय भएको महाशाखाकी नर्सिङ अधिकृत लक्ष्मी मरासिनी आचार्यले जनाएकी छन्।
डब्लूएओ सेजले ७ माघमा र राष्ट्रिय खोप सल्लाहकार समितिले १२ माघमा बुस्टर डोजमा अन्य खोप लगाउन सकिने सिफारिश गरेका थिए। त्यसका आधारमा १४ माघमा स्वास्थ्य मन्त्रालयले अन्य खोप लगाउन सकिने निर्णय गरेको हो।
६० वर्षभन्दा माथिका नागरिकले जुनसुकै खोप लगाएको भए पनि बुस्टर डोजमा कोभिशिल्ड वा एस्ट्राजेनेका दिने निर्णय भएको छ।
त्यस्तै, पहिलो डोज लगाएका व्यक्तिलाई सोही खोप नभएमा दोस्रो डोजमा कोभिशिल्ड वा एस्ट्राजेनेका खोप लगाइने भएको छ। यससँगै विदेशमा कोभिशिल्ड, अस्ट्राजेनेका, भेरोसेल, मोडर्ना वा फाइजर खोप लगाएका व्यक्तिले दोस्रो डोजका रूपमा कोभिशिल्ड वा एस्ट्राजेनेका खोप पाउने भएका छन्।
यसअघि पहिलो डोजमा जुन खोप लगाएको हो, दोस्रो डोजमा पनि त्यही खोप लगाइँदै आएको थियो। त्यससँगै बुस्टर डोजमा पनि सम्बन्धित खोप नै दिने गरिएको थियो। अन्य खोपको अभाव हुन थालेपछि स्वास्थ्य मन्त्रालयले कोभिशिल्ड वा एस्ट्राजेनेका खोप दिने निर्णय गरेको हो।