गैंडा मरेको घटनामा ठेकेदार विरुद्ध पक्राउ पुर्जी जारी
सडक विस्तारका क्रममा निर्माणाधीन नालीको खोंचमा परेर गैंडा मरेको घटनामा ठेकेदार कम्पनीका सञ्चालक विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।
चितवन राष्ट्रिय निकुञ्जले इन्डो सगुन जेभीका सञ्चालक सहदेव खड्का विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार, निर्माण कम्पनीका सञ्चालक खड्कालाई पक्राउ पुर्जी जारी गरेको हो। निकुञ्जले सहायक संरक्षण अधिकृत राजु घिमिरेलाई अनुसन्धान अधिकृत पनि तोकेको छ।
९ माघमा नालीको खोंचमा परेर गैंडा मरेको थियो। लगत्तै वन तथा वातावरण मन्त्रालयले वन विभागका उपमहानिर्देशक राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो।
समितिमा मन्त्रालयका कानून उपसचिव रामजी दनाईं, विभागका योजना अधिकृत दिलबहादुर उर्जापुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य, डिभिजन वन कार्यालय चितवनका प्रमुख पदमराज नेपाल सदस्य रहेका छन्। १० दिन म्याद दिएको समितिले बिहीबारबाट सरोकारवालासँग छलफल थालेको छ।
डिभिजन सडक कार्यालय चितवनले पुल्चोकदेखि गोन्द्राङसम्म ६ लेन सडकका लागि ठेक्का लगाएको थियो। ठेक्का अन्तर्गत सगुनले काम गरेको हो। वन्यजन्तु करिडोरमा निर्माण गर्दा पालना गर्नुपर्ने ऐन कानून अवलम्बन नगरी काम गर्दा घटना भएको जनाउँदै निकुञ्जले निर्माण कम्पनीका सञ्चालक विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। (रासस)