उपत्यकामा थपिए ३९३९ कोरोना सङ्क्रमित
देशभर कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकामध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामै देखिएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, काठमाडौं उपत्यकामा तीन हजार ९३९ जनामा सङ्क्रमण पुष्टि भएको छ। जबकि, देशभर ६ हजार ७३४ जनामा कोरोना देखिएको थियो।
त्यस्तै, काठमाडौंमा दुई हजार ९४३, ललितपुरमा ७९५ र भक्तपुरमा २०१ जनामा कोरोना देखिएको छ। योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या काठमाडौंमा १३ हजार ९८६, ललितपुरमा तीन हजार ५५५ र भक्तपुरमा एक हजार ८४६ पुगेको छ।
आज देशभर सङ्क्रमण पुष्टि भएकामध्ये १४ हजार १४ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ७४७ जनामा र तीन हजार ४५१ जनाको एन्टिजेन परीक्षण गर्दा ९८७ जनामा कोरोना देखिएको हो।
आज पनि कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या पनि ११ हजार ६२३ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ५४७ जना निको भएका छन्। निको हुने सङ्ख्या कम हुँदा सक्रिय सङ्क्रमित बढ्दै गएका छन्। आजसम्म देशभर ३० हजार ८७७ जना सक्रिय सङ्क्रमित छन्।