लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालका अभिन्न भूभाग : सरकार
सरकारले महाकाली नदी पूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको अभिन्न भूभाग भएको जनाउँदै सडक विस्तार रोक्न आग्रह गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको बताए। उनले भने, “महाकाली नदीका पूर्व लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट छ।”
केही दिनअघि उत्तराखण्डमा आयोजित कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक क्षेत्रमा सडक विस्तार भइरहेको बताएका थिए। त्यसको नेपालमा विरोध भइरहेको छ।
यस विषयमा सरकारको धारणा सार्वजनिक गर्दै मन्त्री कार्कीले भने, “नेपाल सरकारले भारत सरकारलाई नेपाली भूभाग भएर जाने कुनै पनि किसिमको एकपक्षीय सडक निर्माण/विस्तार रोक्न आग्रह गर्दै आएको छ।”
साथै दुई देशबीचको समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको जनाइएको छ। पत्रकार सम्मेलनमा मन्त्री कार्कीले भने, “नेपाल र भारतबीच रहिआएको घनिष्ट र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावना अनुसार दुई देशबीचको सीमा समस्याको समाधान ऐतिहासिक सन्धि, सम्झौता, तथ्य, नक्शा र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार प्रतिबद्ध रहिआएको छ।