कर्मचारीलाई ओलीको आग्रह- भ्रष्टाचारलाई घृणा गर्नुहोस्
नेकपा (एमाले) अध्यक्षका केपी शर्मा ओलीले भ्रष्टाचारलाई घृणा गर्न कर्मचारीलाई आग्रह गरेका छन्।
आइतबार झापाको भद्रपुर-१० चन्द्रगढीस्थित शहीद मनोज झपेन्द्र स्मृति सामुदायिक राष्ट्रसेवक भवनको उद्घाटन गर्दै उनले भ्रष्टाचार जरैदेखि हटाउनुपर्ने बताए। अध्यक्ष ओलीले भने, “देशको गरिमा उच्च पार्न र मुलुकलाई विकसित बनाउनका लागि भ्रष्टाचारलाई जरैदेखि हटाउन आवश्यक छ।”
उनले जनताको काम गर्न ढिलासुस्ती गर्न नहुने बताए। “ढिलासुस्ती नगरेर जनताको मन जित्नेगरी काम गर्नुहोस्,” ओलीले भने, “भ्रष्टाचारलाई घृणा गर्नुहोस्।”
मानिस कुनै न कुनै राजनीतिक विचारबाट प्रेरित हुने गरेको बताउँदै कर्मचारी पनि त्यसबाट भिन्न नरहेको उनको भनाइ थियो। “काम गर्ने वेलामा कर्मचारीले निरपेक्ष भएर जनताको काम गर्नुपर्छ, कर्मचारी संयन्त्र जनताको सेवा गर्ने संयन्त्र हो,” ओलीले भने।
उनले चुनावमा पनि कर्मचारीले निष्पक्ष भएर काम गर्नुपर्ने बताए। “राष्ट्रसेवक कर्मचारीले चुनावमा निष्पक्ष भएर काम गर्नुपर्छ,” ओलीले भने।
नेपाल निजामति कर्मचारी सङ्गठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था भद्रपुरको अगुवाइमा भवन निर्माण भएको भवन निर्माण समितिका संयोजक लक्ष्मीप्रसाद गुरागाईंले बताए। दुईतले भवन एक करोड ८८ लाख नौ हजार ५७० मा निर्माण भएको हो। आठ वर्षअघि वनको शिलान्यास पनि अध्यक्ष ओलीले नै गरेका थिए।