भारतले महाकाली नदीको नाम फेरेको विषयमा सरकार बोल्नुपर्छ: चित्रबहादुर केसी
भारतले महाकाली नदीको नाम फेरेको विषयमा सरकारले बोल्नुपर्ने सत्तारुढ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताएका छन्।
भारतीय सर्वेक्षण विभागले दशौं संस्करणको राजनीतिक नक्सामा नाम फेरेर काली (महाकाली) नदीलाई कुटी याङती भनेर लेखेको छ। गत वर्ष आठौं संस्करणको नक्सामा काली नै लेखिएको थियो। त्यो नक्सामा लिम्पियाधुरा, कालपानी र लिपुलेक आफ्नोतिर पारेपछि नेपालमा विरोध भएको थियो।
त्यसपछि भारतले नाम हटाएर नवौं संस्करणको नक्सा निकालेको थियो। त्यहि वेला नेपालले लिम्पियाधुरा, कालपानी र लिपुलेकलाई समेटेर चुच्चे नक्सा जारी गरेको थियो।
अहिले पनि भारतले भ्रम छर्न महाकाली नदीको नाम फेरेको अध्यक्ष केसीले बताए। “भारतले भ्रममा पार्न महाकाली नदीको नाम फेरेर कुटी याङ्ती बनाएको छ। यो भारतको हेपाहा प्रवृतिको निरन्तरता हो,” अध्यक्ष केसीले हिमालखबरसँग भने, “यस विषयमा चुप लागेर बस्न मिल्दैन, सरकारले बोल्नुपर्छ।”
त्यस्तै, जनमोर्चाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइको पनि विरोध गरेको छ। गत साता उत्ताराखण्डको हल्द्वानीमा आयोजित कार्यक्रममा मोदीले मानसरोवरसम्म सडक पुर्याउनका लागि लिपुलेक क्षेत्रमा विस्तारको काम भइरहेको बताएका थिए।
आइतबार जारी विज्ञप्तीमा जनमोर्चाले भनेको छ, ‘भारतले सडक विस्तारको कार्य अहिले पनि जारी राखेकोमा त्यसको घोर विरोध गर्दै नेपाल सरकारलाई तुरुन्तै भारतसँग यो विषयमा कुराकानी गर्न तथा निर्माण कार्य रोक्न माग गर्दछौँ।’
यसअघि उत्तराखण्ड राज्यका गभर्नर गुरमित सिंहले कालापानी क्षेत्रको भ्रमण गरेको विषयमा पनि जनमोर्चाले विरोध जनाएको थियो। गभर्नर सिंहले १७ पुसमा कालापानी क्षेत्रमा पर्ने नाबी र गुञ्जी गाउँको भ्रमण गरेका थिए।
त्यसको विरोध गर्दै जनमोर्चाले भनेको थियो, ‘कालापानी क्षेत्रका उक्त गाउँहरु नेपालको सार्वभौमिकताभित्र पर्दछन्। नेपालको अनुमतिबिना त्यसप्रकारको भ्रमणले नेपालको सार्वभौमिकता तथा अखण्डतालाई भारतले ठाडै चुनौति दिएको छ। त्यसबारे नेपाल सरकार अहिलेसम्म मौन रहेकोमा उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउन र त्यसबारे आफ्नो धारणा सार्वजनिक गर्न माग गर्दछौं।’