नेताहरूको चालचलनसँग समाज सन्तुष्ट छैन: पूर्व राष्ट्रपति यादव
पूर्व राष्ट्रपति डा.रामवरण यादवले नेताहरूका क्रियाकलापले गर्दा नेपाली जनता सन्तुष्ट हुन नसकेको बताएका छन्।
लामो सङ्घर्षपछि लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र त्यसले समाजलाई अगाडि बढाउन बाटो खोलेको पूर्व राष्ट्रपति डा. यादवको भनाइ थियो। तर, नेताहरूले जनअपेक्षा अनुसार काम गर्न नसकेकोमा उनले असन्तुष्टि जनाए।
“आज राजनीतिक पार्टीहरूमा, त्यो कम्युनिष्ट हो, त्यो कांग्रेस हो वा अरू पार्टी हुन्, विचलन देखिन्छ। भ्रष्टीकरण भएको छ,” पूर्व राष्ट्रपति डा. यादवले भने, “जुन नेताहरूको चालचलन छ, त्यससँग नेपाली समाज सन्तुष्ट छैन, म पनि सन्तुष्ट छैन।”
वरिष्ठ कम्युनिष्ट नेता चन्द्रदेव जोशीको पुस्तक मार्क्सवाद र विश्व कम्युनिष्ट आन्दोलन लोकार्पण कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति डा. यादवले सबै दलका नेताहरूले जोशीबाट सिक्नुपर्ने बताए। “उहाँको सादगी, सरल जीवन, इमानदारिता छ। उहाँबाट केही सिकौं,” उनले भने।
पूर्व राष्ट्रपति यादवले संविधानमाथि बारम्बार आक्रमण भइरहेको बताए। अहिले अदालतमा देखिएको विवाद, संसद्मा भइरहेको अवरोधले लोकतन्त्र र संविधानलाई नै कमजोर बनाउने जिकिर गरे। राष्ट्रपति, प्रधानमन्त्री र राजनीतिक दलका नेताहरूले छलफल गरेर यसको सम्बोधन गर्नुपर्ने सुझाव दिए।