प्रदेशमा समन्वय गर्न गठबन्धनले खटायो ३५ नेता, को कहाँ?
सत्तारूढ गठबन्धनले प्रदेशमा समन्वय गर्न पाँच दलका ३५ नेतालाई खटाएको छ।
गठबन्धनले तत्कालका लागि राष्ट्रिय सभा निर्वाचनलाई ध्यानमा राखेर समन्वय गर्न पाँचै दलका नेता खटाएको हो। सबै प्रदेशमा पाँचै दलका एक-एक नेतालाई समन्वयको जिम्मेवारी दिइएको छ।
प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) का घनेन्द्र बस्नेत, नेकपा (माओवादी केन्द्र)का राम कार्की, जनता समाजवादी पार्टी (जसपा) नेपालका अशोककुमार राई, नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र राष्ट्रिय जनमोर्चाका हरिकान्त पौडेललाई खटाइएको छ।
त्यस्तै, प्रदेश २ मा एकीकृत समाजवादीका रामचन्द्र यादव, माओवादीका गणेश साह, जसपाका मृगेन्द्रसिंह यादव, कांग्रेसका रमेश रिजाल र जनमोर्चाका धर्मानन्द सुवेदीलाई समन्वयको जिम्मेवारी दिइएको छ।
बागमतीमा कांग्रेसका प्रकशशरण महत, एकीकृत समाजवादीका केदार न्यौपाने, माओवादीका हितमान शाक्य, जसपाका गंगानारायण श्रेष्ठ र जनमोर्चाका लालबहादुर थापालाई समन्वय गर्न पठाइएको छ।
यस्तै, गण्डकीमा एकीकृत समाजवादीका केशवलाल श्रेष्ठ, माओवादीका हितराज पाण्डे, जसपाका हरिशरण आचार्य, जनमोर्चाका शंकर बराल र कांग्रेसका रामचन्द्र पौडेल खटिएका छन्।
लुम्बिनीमा माओवादीका चक्रपाणि खनाल, एकीकृत समाजवादीका भागवत विश्वास, जसपाका सहसराम यादव, जनमोर्चाका सुरेश थापा र कांग्रेसका बालकृष्ण खाँणले जिम्मेवारी पाएका छन्।
यसैगरी, कर्णालीमा माओवादीका शक्ति बस्नेत, कांग्रेसका जीवनबहादुर शाही, एकीकृत समाजवादीका प्रकाश ज्वाला, जसपाका भक्तबहादुर शाह र जनमोर्चाका जनकराज शर्मालाई खटाइएको छ।
सुदूरपश्चिममा एकीकृत समाजवादीका विक्रम शाही, माओवादीका खगराज भट्ट, कांग्रेसका दिलेन्द्र बडू, जनमोर्चाका नन्दराज भट्ट र जसपाका मालामती चौधरीलाई जिम्मेवारी दिइएको छ।
सत्तारूढ गठबन्धनले राष्ट्रिय सभा निर्वाचनमा मिलेर उम्मेदवारी दिएको छ। नेकपा (एमाले)ले भने १९ वटै सीटमा एक्लै उम्मेदवार बनाएको छ।
राष्ट्रिय सभाका रिक्त हुन लागेका १९ सीटका लागि १२ माघमा चुनाव हुँदै छ। त्यसका लागि निर्वाचन आयोगले सबै तयारी पूरा गरिसकेको जनाएको छ।