प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवा शनिबार बिहान ओली निवास बालकोट पुगेका छन्। दुवै जनाबीच भेटवार्ता चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
एमालेको अवरोधका कारण संसद् चल्न सकेको छैन। संसद्को अवरोध हटाउने विषयमा छलफल गर्न प्रधानमन्त्री देउवा बालकोट पुगेका हुन्।
यससँगै दुवै नेताबीच समसामयिक राजनीतिक विषयमा पनि छलफल चलिरहेको एमाले अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ।
यसअघि २१ पुसमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि ओलीसँग भेटवार्ता गरेका थिए। पौडेल पनि ओलीलाई भेट्न बालकोट पुगेका थिए। त्यति वेला पनि संसद्को अवरोध खुलाउने विषयमा छलफल भएको थियो।