विदेश जान नपाएका चिकित्साशास्त्रका विद्यार्थीले नेपालमै पढ्न पाउने
कोरोनाभाइरसको महामारीका कारण अध्ययनरत देशमा फर्किन नपाएका चिकित्सा शिक्षाको स्नातक तहका विद्यार्थीले नेपालमै पढाइ पूरा गर्न पाउने भएका छन्।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले चीन लगायत विभिन्न मुलुकमा भर्ना भएका विद्यार्थीलाई नेपालमै पढ्न, प्रयोगात्मक अभ्यास तथा इन्टर्नशिप गर्न पाउने सैद्धान्तिक स्वीकृति दिएको हो।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को बैठकले चिकित्सा शिक्षाको स्नातक तहमा चीन लगायत विभिन्न मुलुकमा भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास वा इन्टर्नशिप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिएको बताए।
कोभिड-१९ का कारण चीनको वुहानबाट सरकारले सन् २०१९ मा अधिकांश चिकित्सा शिक्षा पढिरहेका विद्यार्थीलाई एयरलिफ्ट गरेर नेपाल ल्याएको थियो। त्यस्तै, अन्य मुलुकबाट पनि विद्यार्थी फर्केका थिए। तर, चीनले विद्यार्थीलाई फर्कन अहिलेसम्म स्वीकृति दिएको छैन। जसका कारण चिकित्सा शिक्षा अध्ययन गरिरहेका दुई सय विद्यार्थी अप्ठ्यारोमा परेका थिए। उनीहरू एक वर्षदेखि आन्दोलनमा थिए।
सरकारको यो निर्णयसँगै कोभिड-१९ को महामारी कारण देखाउँदै चीन लगायत विभिन्न देशमा भर्ना भएका तर जान नसकेका विद्यार्थीले बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास वा इन्टर्नशिप नेपालमै गर्ने बाटो खुलेको छ।
यसअघि सरकारले दुई ब्याचका अध्ययन र प्रयोगात्मक अभ्यास पूरा गरी फर्केका विद्यार्थीलाई नेपालमै इन्टर्नशिप गर्न पाउने गरी व्यवस्था मिलाएको थियो। अन्य ब्याचका विद्यार्थीलाई पढिरहेकै देशका शैक्षिक संस्थामा थप अध्ययन र इन्टर्नशिपका लागि कूटनीतिक पहल गर्ने बताएको थियो। तर, पहल सफल नभएपछि सरकारले नेपालमै पढाइ पूरा गर्न दिने भएको हो।