माओवादी अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन पारित
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पमकल दाहालको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी माओवादीको आठौं महाधिवेशनको हलबाट अध्यक्ष दाहालको प्रतिवेदन सर्वसम्मतिले पारित भएको हो। अध्यक्ष दाहालले १२ पुसमा ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा प्रतिवेदन प्रस्तुत गरेका थिए।
त्यसमा २५ वटा समूह बनाएर छलफल भएको थियो। सबै समूह तथा प्रतिनिधिले उठाएका प्रश्नको जवाफ दिंदै अध्यक्ष दाहालले सबैका सुझावलाई समेट्ने बताए।
अध्यक्ष दाहालले दुई घण्टा लगाएर जवाफ दिएका थिए। तर, फरक मतका रूपमा प्रस्तुत राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलको प्रतिवेदनमाथि भने केही बोलेनन्।
११ पुसमा शुरू भएको माओवादीको महाधिवेशन लम्बिएको छ। महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ। यसका लागि एक हजार सात प्रतिनिधि महाधिवेशनमा सहभागी छन्।