कैलालीको पूर्वी क्षेत्र जलमग्न, सयौं घर डुबानमा (तस्वीरहरु)
![कैलालीको पूर्वी क्षेत्र जलमग्न, सयौं घर डुबानमा (तस्वीरहरु)](https://www.himalkhabar.com/uploads/posts/1596004411cover-badhi.jpg)
-उन्नती चौधरी
अविरल वर्षापछि आएको बाढीले कैलालीको पूर्वी क्षेत्रमा पर्ने भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका, कैलारी गाउँपालिका डुबानमा परेका छन्। धनगढी उपमहानगरपालिकाको केही क्षेत्र पनि डुबानमा परेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतीक विष्टका अनुसार भजनी, जोशी र टीकापुरमा बस्तीमै बाढी पसेको छ। भजनीमा मात्रै १२० भन्दा बढी घर डुबानमा परेकाे उनले बताए।
भजनी–५ स्थित जबलपुर गाउँमा डुबानमा परेका झण्डै ६० घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। भजनीकै वडा नं.२ र ३ स्थित मोहनपुर, ढुसी र काँढा गाउँमा काँढा नदीको बाढी पसेको छ। त्यहाँ करीब ६० घर डुबानमा परेका छन्।
घरभित्रै पानी पसेपछि अन्नपात र लत्ताकपडा नष्ट भएको भजनीका स्थानीय प्रेम चौधरीले बताए। उनले भने, “घरभित्र पानी पसेर अन्न, लुगाकपडा सबै बगायो। मान्छेलाई सुरक्षित स्थानमा सारिए पनि बाख्रा लगायत घरमा पालेका जनावर डुबेका छन्।”
जोशीपुर गाउँपालिकामा ३० घर डुबानमा परेका छन्। त्यहाँका घरमा पानी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिरहेको प्रहरीले जनाएको छ। सो क्षेत्र रातिदेखि नै जलमग्न भएको स्थानीय सुरेन्द्र चौधरीले बताए।
अविरल वर्षापछि कर्णाली, कान्द्रा, काँडा, पथरैया, मोहना, खुटिया, घुराहालगायत नदीमा पानीको बहाब बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गए रातिदेखि सुदूरपश्चिमका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ।
![](/uploads/shares/1%20prakash/kailali%201.jpg)
![](/uploads/shares/1 prakash/kailali 7.jpg)
![](/uploads/shares/1 prakash/kailali 8.jpg)
![](/uploads/shares/1 prakash/kailali 3.jpg)
![](/uploads/shares/1 prakash/kailali 4.jpg)