टिप्पणी विहीबार, जेठ २९, २०७७

हजुरबुबाकाे पदचाप पछ्याउँदै हिलारीका नाति पुस्ता

हिमालखबर

हजुरबुबाकाे पदचाप पछ्याउँदै हिलारीका नाति पुस्ता
हिलारीको नाति जर्ज र एलेक्स (दायाँ) । तस्वीरः सप्लाइड

नेपालको हिमचुचुरोसँग गाँसिएको हिलारीको सम्बन्ध विस्तारै नेपाल र नेपालीसँग पनि आत्मीय र प्रगाढ बन्दै गयो; जुन उनको निधनपछिका दिन अनि वर्षहरूमा पनि महसूस गर्न सकिन्छ।

विनोद पराजुली

हरेक सम्बन्धको शुरूआत कुनै न कुनै कारण र घटनाक्रमबाट हुन्छ । समय बित्दै जाँदा कति आवेग–प्रवेगसँगै धेरै सम्बन्धको अवसान हुन्छ भने कति परिमार्जन हुँदै अघि बढेका हुन्छन् । तीमध्ये साह्रै थोरै उस्तै आत्मीय र घनिष्ट सम्बन्धका उदाहरण बनिरहन्छन्, र ती विशेष हुनपुग्छन् । न्युजिल्यान्डका सर एडमण्ड हिलारीको नेपालीसँगको साइनो पनि यस्तै छ । यो सम्बन्ध भने नेपालमा रहेको सर्वोच्च शिखर सगरमाथाले जोडिदिएको हो ।

यसअघि मानव पुरुषार्थले नचुमेको सगरमाथाको शिर र ननापेको यसको उँचाइ दुवै मुकाममा (तेन्जिङसँगै) सफल भएपछि हिलारीले विश्वव्यापी प्रसिद्धि पाए । आफ्नो सफलतामा प्रत्यक्ष र परोक्ष रूपमा नेपाल र शेर्पाहरूले लगाएको गुन बिर्सन नसकेकैले उनी फर्की–फर्की नेपाल आइरहे ।

सगरमाथा आरोहणको ६७औं वर्ष

अंग्रेजी मे महीनाको २९ तारिख त्यो ऐतिहासिक दिन हो जसले न्युजिल्यान्ड र नेपाललाई इतिहासदेखि वर्तमान र भविष्यसम्म पनि जोडिरहनेछ । यो सम्बन्ध द्विपक्षीय राज्य र सरकारस्तरका सामान्य सहकार्य तथा आपसी सद्भावमा मात्र सीमित रहेन । सर्वसाधारणको तहसम्म पनि प्रगाढ बनेर बसेको छ । त्यसैले त हिलारीको जन्मभूमिमा बस्ने नेपालीहरूले न्युजिल्यान्डलाई निर्धक्क नेपालपछिको दोस्रो घर भन्न मनपराउँछन् ।

हरेक वर्षको मे २९ तारिख अर्थात् झण्डै सत्तरी वर्षअघि जोडिएको यो सम्बन्धलाई अघिल्लो पुस्ताहरू बीच पुनः परिभाषित गर्दै नयाँ पुस्तासँग जोड्ने अवसर बन्दै आएको छ।अर्कोतर्फ, शिखरको सर्वोच्चताको ख्याति संसारभर फैलाउँदै पर्वतारोहणका लागि धेरैलाई नेपालतर्फ आकर्षित गरिरहेको छ ।

सन् १९५३ मा न्युजिल्यान्डका एडमण्ड हिलारी र नेपाली तेन्जिङ नोर्गे शेर्पाले त्यसअघि कुनै व्यक्तिले नपुर्याएको मानव पाइला विश्वकै सर्वोच्च शिखर सगरमाथामा पुर्याउन सफल भएका थिए । दुई हप्ता अघि त्यो सफलताको ६७औं वर्ष पूरा भएको छ ।

सगरमाथा विजय गर्ने सर एडमण्ड हिलारी र तेन्जिङ नाेर्गे शेर्पा ।

त्यो दिन शिखरमा बिहान साढे ११ बजे पुगेका हिलारी र तेन्जिङले एक–अर्कातिर फर्किएर हात मिलाए अनि अँगालो हाल्दै सफलताको खुशी साटासाट गरेका थिए । सधैं चुनौतीपूर्ण र रहस्यमय बनेर रहेको सगरमाथाको चुचुरो छुनुको आनन्द निश्चय नै अलौकिक भएको हुनुपर्छ । हुन पनि यो आफैंमा मृत्युसँग पौंठेजोरी खेल्दै इतिहास बनाएको अवसर थियो । हिलारी र तेन्जिङ दुवैलाई मात्र शिखरमा पुग्ने अवसर जु¥यो । यसले दुवैलाई मान, सम्मान र वैभव पनि उपलब्ध गरायो ।

कर्म गरेर मात्र कहाँ हुन्थ्यो र भाग्यले पनि साथ दिनुपर्ने रहेछ । हिलारी र तेन्जिङ भन्दा अघि टम बोर्डिलन र चाल्र्स इभान्स दुवै शिखरको चुचुरो नजिकै ८,७४७ मिटरको उँचाइमा पुगेका थिए तर इभान्स साह्रै थाकेको र अक्सिजन पनि सकिन लागेकाले उनीहरू फर्कने निर्णयमा पुगे । बोर्डिलन र इभान्सको जोडीले विश्वकै सर्वोच्च हिमालको टाकुराको १०० मिटरको दूरी चढ्न नसक्दा इतिहास लेख्ने सुनौलो अवसर हिलारी र तेन्जिङको पोल्टामा परेको थियो । भाग्यवश निर्धारित समय भन्दा दुई दिन अगावै चुचुरोतर्फ पठाइएका हिलारी र तेन्जिङले त्यही दिन सगरमाथाको शिरमा मानव पाइला राखेका थिए ।

धेरैलाई लाग्न सक्छ सगरमाथा आरोहणपछि नै तेन्जिङ र हिलारीको सहयात्रा शुरू भएको हुनुपर्छ तर त्योभन्दा धेरैअघि सन् १९३९ मा न्युजिल्याण्डको ओलिभर हिमालको आरोहण गरेर यी दुवैको मित्रता शुरू भएको थियो । कसले पो सोचेको थियो होला र ? यी दुईले नै विश्वकै सर्वोच्च शिखरमा पहिलो मानव पाइला पु¥याउने छन् भनेर !

हिलारीले न्युजिल्याण्डको सबैभन्दा अग्लो कूक हिमाल पनि चढ्नुका साथै सोही क्षेत्रमा रहेर सगरमाथा आरोहणका लागि तयारी गरेका थिए । सडकले छोएको कूक हिमाल अहिले न्युजिल्याण्डकै लोकप्रिय पर्यटकीय गन्तव्य बनेको छ जहाँ हिलारीको शालिक हिमालतिर फर्किएर ठिङ्ग उभिइरहेको छ ।

सगरमाथा आरोहण वास्तवमा सामूहिक प्रयास थियो । सो आरोहण अभियानका लागि जोन हन्टको नेतृत्वमा ४४० जनाको दलबल खटिएका थिए भनिन्छ । ती बाहेक ३०० भरिया र २० जना शेर्पा पथप्रदर्शकहरू थिए भने पर्वतारोहण र आरोहीहरूका लागि ४ हजार ५३६ किलोग्राम बन्दोबस्तीका सामान लागिएको थियो ।

यो अविश्वसनीय उपलब्धिको एक मात्र प्रमाणको रूपमा लिइन्छ– हिमबन्चरो लिएर चुचुरोमा उभिएका तेन्जिङको तस्वीर, जुन हिलारीले खिचिदिएका थिए । अझ रोचक प्रसङ्ग त त्यतिवेलाको छ जतिवेला तेन्जिङले तस्वीर लिन प्रस्ताव गरे पनि खोइ किन हो उनले अस्वीकार गरेका थिए रे ! उनीहरूले आरोहणलाई वास्तविक रूपमा सफल भएको भनेर प्रमाणित गर्न सगरमाथाको शिखरबाट अरू फोटोहरू पनि लिएका थिए । 

उनीहरूले संसारको टाकुरोमा लगभग १५ मिनेट बिताएर ओर्लिएपछि त्यही पदचाप पछ्याउँदै अहिलेसम्म ६ हजार १६३ जना शिखरको चुचुरोमा पुगिसकेका छन् भने यसै क्रममा सर्वोच्च शिखर आरोहणका ३६ वटा विभिन्न विश्व कीर्तिमानहरू राखिसकिएका छन् । नेपालकै आप्पा शेर्पाको नाउँमा सबैभन्दा बढी २३औं पटक चुचुरोमा पुगेको कीर्तिमान छ ।

सन् १९६२ मा खिचिएकी हिलारीको पारिवारिक तस्वीर । तस्वीरमा रहेकी उनकी श्रीमती लुइसा र जेठी छोरी बेलिन्डाले १९७५ मा काठमाडौंमा भएको हवाई दुर्घटनामा ज्यान गुमाएका थिए । तस्बिर: पिटर हिलारी

अर्कोतर्फ हिलारी मात्र होइन, उनका छोरा पिटर पनि सगरमाथा आरोहणमा निस्किए । आफ्ना बावुले खुट्याएको बाटो पछ्याउँदै उनी पनि दुई–दुई पटक सगरमाथाको टाकुरोमा पुगिसकेका छन् । अहिले फेरि हिलारी परिवारको तेस्रो पुस्ताका जोर्ज र एलेक्स पनि हजुरबुवा सर एडमण्ड हिलारी र बुवा पिटर जस्तै विश्वकै अग्लो हिमशिखरको आरोहण गर्ने तयारीमा जुटिरहेका छन् । उनीहरूको सफल आरोहणपछि हिलारी परिवारको तीन पुस्ता सगरमाथामा पुगेको कीर्तिमान समेत लेखिनेछ ।

समाजसेवाको अर्को नाम हिमालयन ट्रष्ट

सगरमाथाका हरेक गाथाहरू विश्वसामु सुनाउँदै गर्दा हिलारीले बुद्धको देश नेपाललाई सगरमाथाको देशका रूपबाट पनि चिनाउन धेरथोर भूमिका निर्वाह गरेका छन् । यो बाहेक नेपाललाई विभिन्न प्रकारका हिमाली पर्यटन गतिविधिका लागि आकर्षक पर्वतीय गन्तव्यको रूपमा संसारभर प्रस्तुत गरे ।

अहिले हिमालय क्षेत्रमा पर्वतारोहण बाहेक साइकल यात्रा, पदयात्रा, पाराग्लाइडिङ, माउन्टेन फ्लाइट, रक क्लाइम्बिङ, बञ्जी जम्पिङ, जलक्रीडा (र्‍याफ्टिङ), प्राकृतिक दृश्य तथा चरा अवलोकन लगायतका विभिन्न रोमाञ्चक गतिविधिका लागि वर्षेनि सात लाखभन्दा बढी पर्यटक नेपालका पर्वतीय क्षेत्रमा जाने गरेका छन् ।

आराेहण गरेर फर्कने क्रममा आराम गर्दै तेन्जिङ र हिलारी ।

नेपालको हिमचुचुरोसँग गाँसिएको हिलारीको सम्बन्ध विस्तारै नेपाल र नेपालीसँग पनि आत्मीय र प्रगाढ बन्दै गयो; जुन उनको निधनपछिका दिन अनि वर्षहरूमा पनि महसूस गर्न सकिन्छ । प्राकृतिक सुन्दरताका बाबजूद पनि सर्वोच्च शिखरको फेदीमै रहेको नेपाली शेर्पा समुदायको कष्टकर जीवनशैली, रहनसहनसँग हिलारी भावनात्मक रूपले गाँसिन पुगे । त्यसैले उनले आफ्नो ऐतिहासिक सगरमाथा आरोहण अभियान सम्भव बनाउन शेर्पाहरूले गरेको सहयोगलाई ऋण सम्झिएर समाजसेवाको माध्यमबाट उनीहरूलाई नै फिर्ता गर्ने अभियानमा खटिइरहे ।

“हाम्रा बच्चाहरूका आँखा भए पनि तिनीहरू अन्धा छन् र देख्न सक्दैनन् । हाम्रो गाउँमा एउटा स्कूल बनाएर तपाईंले उनीहरूका आँखा खोल्न सक्नुहुन्छ ।” स्थानीय नागरिकका लागि केही गर्न अग्रसरता देखाउँदा एक जना शेर्पाले दिएको त्यो जवाफले हिलारीको मनमस्तिष्कमा ठूलै हलचल ल्याइदिएको थियो ।

लगत्तै सन् १९६० को जून महीनामा हिलारी र उनकी श्रीमती लुइसा मिलेर खुम्जुङमा पहिले विद्यालय निर्माण शुरू गरिहाले । यसरी हिमालयन ट्रष्टले सगरमाथाको फेदीमा रहेका शेर्पा बस्तीमा शिक्षाको एउटा दियो बालेर सामाजिक सेवामा हात हालेको थियो।

हिलारी दम्पतीले ट्रष्टमार्फत सगरमाथा क्षेत्रका नेपालीहरूको शैक्षिक, स्वास्थ्य, आर्थिक र सांस्कृतिक आवश्यकता पूरा गर्न विभिन्न सहयोगका कार्यक्रम शुरू गराए । सोही कार्यक्रम अन्तर्गत खुम्बु क्षेत्र आसपासमा ३० विद्यालय, दुई अस्पताल, १२ स्वास्थ्य चौकी र तीनवटा धावनमार्ग (विशेषगरी दुर्गम ठाउँमा न्यूनतम सुविधा मात्र भएको हवाईजहाज अवतरण गर्न मिल्ने स्थल– एअर स्ट्रिप) निर्माण–सञ्चालन गरेर स्थानीय गाउँघरमा न्यूनतम सुविधा भित्र्याउन ठूलो भूमिका निर्वाह गरे ।

त्यति मात्र हैन उनैले शुरू गरेको शैक्षिक छात्रवृत्ति कार्यक्रम मार्फत स्थानीय समुदायका हजारौंले देश–विदेशमा अध्ययन गरी लाभान्वित भइसकेका छन् । हिलारीले शुरू गरेका समाजसेवाका कार्यहरू हिमालयन ट्रष्ट नाउँको संस्थाले सन् १९६० देखि अझै पनि हेरविचार र निरन्तर आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । ट्रष्टको रेखदेख हिलारीकै छोरा पिटर र छोरी साराले गर्दै आएका छन् ।

पछिल्लो पटक उनका नातिहरू सगरमाथा आरोहण अभियान मार्फत आफ्नो रहर र रमाइलोका लागि भन्दा पनि हजुरबुबाले शुरू गरेको ट्रष्टद्वारा सञ्चालित स्वास्थ्य, शिक्षा र शुद्ध खानेपानी परियोजनाका लागि आर्थिक सहयोग जुटाउन कस्सिएका छन्।  आधारभूत शिक्षा, स्वास्थ्य सेवा र सीपमूलक कार्यक्रमबाट लाभान्वित हुनेहरूले सामाजिक सेवाभाव भएको एउटा पर्वतारोहीबाट आफ्नो जीवनमा ठूलै परिवर्तन अनुभव गर्न पाएका छन् । 

सगरमाथा क्षेत्रका धेरै बालबालिका, परिवार र समुदायहरू ट्रष्टको कार्यक्रमबाट लाभान्वित भएका छन् । ट्रष्टले गत वर्ष ६१ वटा विद्यालयका ७ हजार विद्यार्थीलाई प्रत्यक्ष लाभ पुग्ने गरी शैक्षिक संसाधन, सामग्री र उपकरणहरू उपलब्ध गराएको थियो । संस्थाले शैक्षिक सहयोग कार्यक्रमका लागि मात्र गत वर्ष ६ लाख २० हजार न्युजिल्याण्ड डलर खर्चेको थियो।

त्यस्तै सन् २०१८/१९ मा ६ लाख ६८ हजार तथा सन् २०१९/२० मा ११ लाख २५ हजार न्युजिल्याण्ड डलर बराबरको सहयोग शुद्ध खानेपानी, शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा गरेको छ । यी सबै कार्यका लागि ट्रष्टले न्युजिल्याण्ड सरकारबाट आंशिक अनुदान प्राप्त गर्दछ भने बाँकी विभिन्न देशमा रहेका ट्रष्टका शाखा तथा त्यहाँका सामाजिक संघसंस्था र व्यक्तिहरूबाट प्राप्त सहयोगमा निर्भर रहन्छ ।

सर हिलारी र कुक हिमालको फेदीमा राखिएकाे उनकाे सालिक (बायाँ) । तस्वीर:हिमालयन ट्रष्ट

सगरमाथा माथि मानव विजयका रूपमा लिइएको २९ मे को त्यो आरोहणपछि हिलारीको प्रसिद्धि संसारभर चुलिंदै गयो । त्यही प्रसिद्धिबाट प्राप्त आर्थिक लाभ सगरमाथा क्षेत्रमा रहेका नेपालीको सामाजिक र व्यावहारिक कठिनाइयुक्त जीवनस्तर उकास्न खर्चेर उनले आनन्द प्राप्त गरिरहे । हिलारीको जीवनका पक्षहरू केलाउँदा उनको सबैभन्दा खुशीको क्षण र अत्यन्तै दुःखद घटनाहरू सबै नेपालमा भएका छन् ।

यसैक्रममा १ मार्च, १९७५ मा उनको जीवनमा बज्रपात भयो । हिलारीद्वारा फाप्लुमा निर्माणाधीन अस्पतालको कार्यप्रगति हेर्न काठमाडौंबाट जाँदै गर्दा उनकी श्रीमती लुइसा र छोरी बेलिण्डा (१८ वर्ष) को हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएको थियो ।

सर एडमण्ड हिलारीले आफ्नो जीवनको अधिकांश हिस्सा वातावरणीय संरक्षणका कार्यहरू तथा नेपाल केन्द्रित हुँदै मानवीय सेवामा समर्पित गरे । मानव इतिहासमै उनले प्राप्त गरेको सबैभन्दा ठूलो उपलब्धि र ख्यातिमा यतिका वर्ष बितिसक्दा पनि कुनै ह्रास आएको छैन । हिलारी र तेन्जिङले संयुक्त रूपमा देखेको त्यो पराक्रमलाई नेपालीले सधैं मुक्तकण्ठले स्मरण गरिरहनेछन् ।

हिलारीको प्रयास र सहयोगमा विकट नेपाली गाउँबस्तीले पाएको सुगमताले सधैं उनकै गुणगान गरिरहनेछ । राज्यस्तरमै पनि हिलारीको योगदानको कदर गर्दै गोरखा दक्षिणबाहु सुसज्जित गरिएको थयो । साथै आरोहणको स्वर्णजयन्तीका अवसरमा भएको विशेष समारोहबीच उनलाई नेपालको ‘मानार्थ–नागरिकता’ प्रदान गरिएको थियो । मानार्थ–नागरिकता पाउने उनी पहिलो विदेशी व्यक्ति हुन् ।

सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थललाई तेन्जिङ–हिलारी विमानस्थल र त्यस्तै, सगरमाथा र चोयु हिमाल बीचमा रहेका दुई हिमालमध्ये एउटालाई तेन्जिङ र अर्कोलाई हिलारी नामकरण गरिएको छ । न्युजिल्यान्डमै पनि उनलाई विशेष व्यक्तित्वका रूपमा आदर गरिन्छ । त्यसैले पनि सन् १९९२ देखि उनको तस्वीर न्युजिल्यान्डको पाँच डलरको नोटमा प्रकाशित गर्न थालिएको छ ।

राजनीतिको उच्च ओहोदामा नरहे पनि जीवित अवस्थामै डलर (नोट) मा तस्वीर अंकित गरिएका न्युजिल्यान्डका उनी एक मात्र सम्मानित व्यक्तित्व हुन् । आफ्ना बावुको व्यवसायमा माहुरीपालकको रूपमा समेत काम गरेका व्यक्तिले विश्वको सबैभन्दा अग्लो हिमालय पर्वतको अभूतपूर्व आरोहणका कारण उसले यस्तो ख्याति कमाउलान् भन्ने कसैको कल्पनामै थिएन । विश्व प्रसिद्ध टाइम्स पत्रिकाले उनलाई २०औं शताब्दीका १००औं प्रभावशाली व्यक्तिमध्येका एकको रूपमा घोषणा गरेको थियो ।

पर्वतारोहण क्षेत्रकै शिखर व्यक्तित्व सर एडमण्ड हिलारीको सन् २००८ जनवरी ११ तारिखमा निधन भएको थियो । उनको जन्मदिन भने २० जुलाई हो ।

प्रतिकृया दिनुहोस