तामाकोशी गाउँपालिकाले सबै स्वास्थ्य केन्द्रमा पठायो पीपीई
दोलखाको तामाकोशी गाउँपालिकाले सबै स्वास्थ्य केन्द्रमा कोरोनाभाइरसबाट सुरक्षित रहन प्रयोग हुने स्वास्थ्य सामग्री वितरण गरेको छ।
साथै प्रत्येक स्वास्थ्य चौकीहरुको नियमित प्रत्यक्ष अनुगमन गरिरहेको गाउँपालिका प्रमुख ईश्वरचन्द्र पोखरेलले बताए।
तामाकोशी गाउँपालिकाभित्र रहेका सात वटा स्वास्थ्य चौकीलाई बुट, ग्लोब्स र चस्मा सहितका दुई\दुई सेट पीपीई वितरण गरिएको छ ।
यसैगरी तीनवटा सामुदायिक स्वास्थ्य एकाइ तथा एउटा प्रहरी चौकीलाई बुट, ग्लोब्स र चस्मा सहितको एक\एक सेट पीपीई वितरण गरिएको प्रमुख पोखरेलले बताए ।
त्यसैगरी दुई वटा स्वास्थ्य चौकीलाई एक\एक वटा थर्मल गन र गाउँपालिकाभित्र रहेको तामाकोशी रेडियो तथा स्वास्थ्यकर्मीहरुलाई आवश्यकता अनुसार मास्क र सेनेटाइजर समेत वितरण गरिएको प्रमुख पोखरेलले बताए ।
गाउँपालिकाले प्रत्येक दिन हरेक स्वास्थ्य चौकीहरुको अनुगमन गर्दै आएको तथा स्वास्थ्य चौकीहरुमा आउने बिरामीको प्रकृति, संख्या र अवस्थाको बारेमा नियमित जानकारी लिने गरिएको गाउँपालिकाले जनाएको छ ।
तामाकोशी गाउँपालिकामा अहिलेसम्म ९६ जना भारत लगायत विभिन्न देशबाट आएका र त्यसमध्ये ८२ जना आएको तीन हप्ता भन्दा बढी समय पुगिसकेको र एक साता अघि आएका १४ जना होम क्वारेन्टिनमा रहेको गाउँपालिकाका प्रमुख पोखरेलले जानकारी दिए ।
ती १४ जनाको स्वास्थ्य अवस्थाबारे स्वास्थ्यकर्मीहरुले नियमित जानकारी लिइरहेको पनि प्रमुख पोखरेलले बताए ।
सर्मिला बुढाथोकी