भिमेश्वर नगरपालिकाले बाँड्यो घरैपिच्छे मास्क र साबुन
दोलखाको भीमेश्वर नगरपालिकाले एक घर दुई साबुन र एक व्यक्ति एक मास्क अभियान पनि सुरु गरेको छ ।
नगरबासीलाई हात धुने र मास्क लगाउने बानी बसाल्न यो अभियान सुरु गरिएको नगर प्रमुख भरत केसीले बताए ।
अभियानको पहिलो दिन शनिबार नगरपालिकाको वडा नम्बर २, ३, ४, ७ र ८ को लागि आवश्यक साबुन र मास्क वितरण गरिएको छ । वडा समिति सदस्यहरुले प्रत्येक घरमा गएर मास्क र साबुन वितरण गर्दै कोरोनाभाइरसबाट बच्ने उपाय अपनाउन सल्लाह दिएको नगरप्रमुख केसीले बताए ।
नगरपालिकाले एक घर दुई साबुन अभियानको लागि रु.६ लाख १० हजारको साबुन खरिद गरेको र एक व्यक्ति एक मास्क अभियानको लागि रु. ३ लाखको ३० हजार वटा कपडाको मास्क खरिद गरेको जनाएको छ ।
नगरपालिकाले बन्दाबन्दी शुरु भएपछि सुत्केरी र जेष्ठ नागरिकलाई उपचारको लागि अस्पताल लैजानुपर्ने भए निशुल्क एम्बुलेन्स उपलब्ध गराउने घोषणा गरेको थियो । त्यसयता एक जना सुत्केरी र एक जना जेष्ठ नागरिकले सेवा लिएको नगरपालिकाले जनाएको छ ।
सर्मिला बुढाथोकी/दोलखा